काम रोकेका निर्माण व्यवसायीले मन्त्रालयका सचिवलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । निर्माण व्यवसायी महासंघले शुक्रवार एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको छ ।

अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघका अध्यक्ष पाण्डेले निर्माण क्षेत्र होलिडेको अवस्थामा पुगेकाले सचिवहरूलाई भेटेर ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम संकटमा परेका छन् । त्यसकारण बढेको बजार भाउअनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।

काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बिचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि उनले आपत्ति जनाए । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेले भने ‘आज नेपाल सरकारको सचिव ज्युहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो, निर्माण क्षेत्र होलिडेमा गएको छ । काम बन्द भएको छ । हर्मुज स्ट्रेटले गर्दाखेरि यो अप्रत्याशित इतिहासमै नभएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो, सम्पूर्ण निर्माण सामग्रीहरूको भाउ आकासियो । अहिले काम गर्ने स्थिति नरहेको, काम गर्दा दोब्बर भन्दा बढी घाटा लाग्ने र काम नगर्दा फेरि म्याद सकिने र यस्तो बेलामा पनि आयोजनाका प्रमुखहरू, आयोजनाका इन्जिनियरहरूले ‘तैँले काम गर, जसरी भए नि गर, तैँले मूल्य समायोजन पाउँदैनस् र तैँले काम गरेनस् भने तैँले दिएको जमानत जुन बैंक जमानत छ त्यो जफत गर्छु, तँलाई कालो सूचीमा राख्छु भन्ने धम्कीपूर्ण चिठ्ठीहरू लेखिरहेको स्थितिमा हाम्रा साथीहरू डराएर अब हामी नेपाल हैन बरु इन्डियामै गएर बस्छौँ, त्यहाँ हामी सुरक्षित महसुस हुन्छौँ’ भन्ने जस्तो कुराहरू हामीलाई धेरै प्रेसर आएको छ । काम गर्न नसक्ने स्थितिमा पुगेका छौँ र हामी कन्स्ट्रक्सन होलिडे माग गर्न आएको होइन, कन्स्ट्रक्सन आफैँले होलिडेमा गएर काम बन्द भएको ज्ञापन पत्र हामीले सबै विकासे मन्त्रालयका सचिवलाई बुझाएका छौँ ।’

अध्यक्ष पाण्डेले इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिनलगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको बताए । उनकाअनुसार अब सराकारले मूल्य समायोजन निर्देशिका तत्काल ल्याउनुपर्छ, मूल्यवृद्धिका कारण परेको असरमा सहुलियत दिनुपर्ने माग सम्बोधन नभएसम्म काम अघि बढाउने स्थिति छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =