सरकारको कार्यशैलीप्रति महन्थ ठाकुरको आलोचना: सुशासन र लगानीको वातावरणमाथि प्रश्न

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

सङ्घीय संसद्को बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्म विपरीत कार्य गरिरहेको आरोप लगाएका हुन् ।

अध्यक्ष ठाकुरले सुकुम्वासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै आपत्ति जनाए । भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भएपनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गरे ।

सम्पत्ति शुद्धीकरणका नाममा सरकारले त्रसित बनाउने काम गरेको भन्दै उनले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गरे । अध्यक्ष ठाकुरले निजी क्षेत्र र विशेषगरी मारवाडी समुदायमाथि राज्यले गरिरहेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरे । मारवाडी समाजले शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा ठुलो योगदान पुर्याएको चर्चा गर्दै उनले व्यवसायीहरूलाई त्रसित बनाएर लगानीको वातावरण बन्न नसक्ने बताए ।

उनले भने ‘जनआन्दोलनका मुख्य विषय कुशासन र भ्रष्टाचारको अन्त्य थियो, तर अहिले सुकुम्वासीहरूमाथि डोजर चलाइएको छ। के यसैलाई सुशासन भन्ने हो ? एकातिर अर्थमन्त्री स्वदेशी र विदेशी पुँजी आह्वान गरिरहनुभएको छ, अर्कोतिर स्वदेशी व्यवसायीहरू त्रसित भएर देश छोड्दै छन् । स्वदेशी पुँजी पलायन हुने र व्यवसायी जेल जाने अवस्था रहेसम्म मुलुकमा लगानी र विकास सम्भव छैन ।’

मुलुकमा ‘न्यायिक आतङ्क’ व्याप्त रहेको दाबी गर्दै उनले वर्तमान संविधानका कतिपय मस्यौदामा सुधारको आवश्यकता रहेको औँल्याए । आफ्ना साथीहरू लामो समयदेखि संविधानको सुधारका लागि प्रयासरत रहेको स्मरण गराउँदै उनले राज्यको पछिल्लो चरित्रले लोकतन्त्र र कानुनी शासनमाथि चुनौती थपेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =