इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइने: इरान

एजेन्सी । इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीचको युद्धविरामलाई ‘व्यापक जीवनको क्षति हुनबाट जोगाउने’ कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले उक्त टिप्पणी गरेका हुन् ।
‘अर्को आक्रमण भएको खण्डमा इरानको विकल्पहरू मध्ये एक ९० प्रतिशत (युरेनियम) संवर्धन हुन सक्छ । हामी संसदमा यसको समीक्षा गर्नेछौँ,’ रेजाईले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले सोमबार देशको आणविक प्रविधि र युरेनियम संवर्धनमा कुनै सम्झौता गर्न नसकिने बताएका थिए ।
फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको ४० दिनको लडाइँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका छन् ।
युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा सहमति हुन सकेन ।
विगतमा दुई पक्षहरूले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले आइतबार प्रतिक्रिया दिएको थियो र ट्रम्पले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका थिए ।








