सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छ: पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गरेका छन् ।
सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले विशाल जनमत प्राप्त सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी आम नागरिकको अपेक्षा भए पनि त्यस्तो नआएको टिप्पणी गरेका हुन् ।
नीति तथा कार्यक्रम अनुसार बजेट आए नवयुवामा निराशा पैदा हुने उनको भनाइ छ । उनले नीति तथा कार्यक्रमका सन्दर्भमा सरकार तयारी साथ आएको नदेखिएको टिप्पणी गरे ।
उनले भने ‘विशाल जनमत पाएको सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी नीति तथा कार्यक्रम ल्याउँछ भन्ने जनअपेक्षा थियो । हामी माननीयहरूले समेत स्वाभाविक रूपले ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइरहेको बेला जनअपेक्षाअनुसार अलि क्रमभंग गर्ने खालको नीति ल्याउँछ भन्ने थियो । सरकारले एभरेज नीति तथा कार्यक्रम ल्याएको छ । यसै खालको बजेट आयो भने नवयुवाहरूमा निराशा पैदा हुने देखिन्छ । सरकार तयारीसहित आएको देखिएन । यो पुरानै शैलीको निरन्तरता हो ।’
उनले बजेट प्रस्तुत गर्दा सरकार तयारीसहित आउनुपर्नेमा जोड दिए ।








