विद्यार्थी लक्षित उद्यमशीलता सम्मेलन जेठ १ र २ मा, अन्तर्राष्ट्रिय सहभागिता रहने

नेपाल कमर्श एशोसिएशनको सहकार्यमा मेघा कलेजले सम्मेलन यही जेठ १ र २ गते आयोजना गर्न लागेको हो ।
ललितपुरको कुमारीपाटीस्थित कलेज परिसरमा हुने सम्मेलन उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई उद्यमशीलतामार्फत देश विकासका लागि दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको हो ।
कलेजका संस्थापक प्रिन्सिपल डा. घनश्यामप्रसाद साहका अनुसार सूचना प्रविधि, कानून, व्यवस्थापनलगायतका विभिन्न विधामा छलफल हुने र त्यसले मुलुकको समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उनले नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक तथा विज्ञहरूको सहभागिता रहने जानकारी दिँदै करिब ४० वटा अनुसन्धानपत्र प्रस्तुत हुने बताए ।
उनका अनुसार सम्मेलनको उद्देश्य शिक्षा र बजारबीचको दूरी घटाउँदै विद्यार्थीलाई उद्यमशीलतासँग जोड्नु हो ।
उनले भने, “विद्यार्थीहरू शैक्षिक पृष्ठभूमिबाट बाहिर निस्किएर बजारसँग कसरी जोडिन सक्छन् भन्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।”
सम्मेलनमा नेपाल, भारतलगायतका देशका प्राध्यापक तथा विज्ञहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार कार्यक्रमले नेपालमा आर्थिक विकास र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








