आर्थिक एकीकरणका लागि अफ्रिकी नागरिकबीचको विभेद र आक्रमण अन्त्य गर्न घानाको आग्रह

एजेन्सी । घानाका विदेशमन्त्री सामुएल ओकुजेटो अब्लाक्वाले अफ्रिकी महाद्वीपको आर्थिक र राजनीतिक एकीकरणका लागि अफ्रिकी नागरिकहरूबीच हुने नश्लीय तथा घृणाजन्य आक्रमण तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

तीन दिने ‘थ्री–आई अफ्रिका समिट’ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अब्लाक्वाले महाद्वीपका विभिन्न देशहरूमा अन्य अफ्रिकी मूलका मानिसहरूमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले कुनैपनि विदेशी नागरिकले स्थानीय कानून उल्लंघन गरेमा उनीहरूलाई सम्बन्धित कानूनी निकायले कारबाही गर्नुपर्ने तर सर्वसाधारणले कानून हातमा लिएर अमानवीय व्यवहार वा आक्रमण गर्न नहुनेमा जोड दिए ।

पछिल्लो समय दक्षिण अफ्रिकामा स्थानीय युवा समूहहरूले अन्य अफ्रिकी मुलुकका नागरिकहरूविरुद्ध प्रदर्शन र दुव्र्यवहार गरिरहेका घटनाहरू सार्वजनिक भइरहेका बेला घानाका विदेशमन्त्रीको यो कडा टिप्पणी आएको हो ।

मन्त्री अब्लाक्वाले महाद्वीपका संस्थापक नेताहरूले परिकल्पना गरेको एकीकृत अफ्रिकी बजार निर्माणका लागि आपसी सद्भाव र करुणा अपरिहार्य रहेको उल्लेख गरे । घानाले यस विषयलाई गम्भीरताका साथ लिँदै अफ्रिकी संघ (एयू) समक्ष उजुरीसमेत गरेको छ ।

आगामी जुन महिनामा इजिप्टमा हुने अफ्रिकी संघको समन्वयकारी बैठकमा यस विषयलाई गम्भीर छलफलको एजेन्डा बनाउन घानाले प्रश्ताव गरेको मन्त्री अब्लाक्वाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =