शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण रोक्न आवश्यक: शिक्षाविद् डा.माथेमा

काठमाडौं । वरिष्ठ शिक्षाविद् डा.केदारभक्त माथेमाले शिक्षा क्षेत्रमा व्यापारीकरण बढेको भन्दै यसलाई रोक्न सार्वजनिक शिक्षामा सुधारको आवश्यकता रहेको बताएका छन् ।
आईतवार काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले निजी विद्यालयको प्रभावका कारण शिक्षा क्षेत्र महंगो बन्दै गएको बताएका छन् ।
उनले नेपालमा प्रत्येक नागरिकले औसतमा कुल आम्दानीको करिव ६ दशमलव ८ प्रतिशत शिक्षामा खर्च गर्ने गरेको उल्लेख गरे ।
विकसित देशहरुको तुलनामा नेपालमा शिक्षा महंगो हुँदै गएको भन्दे उनले यसलाई नियन्त्रण गर्न सरकारले सामुदायिक विद्यालयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्रको बजारिकरण रोक्न र सबै नागरिकलाई समान अवसर सुनिश्चित गर्न सार्वजनिक शिक्षामा लगानी बढाउनुपर्ने उनको भनाइ छ । निजी विद्यालयको विस्तारले खर्च बढाउनुका साथै सामाजिक विभाजनलाई समेत गहिरो बनाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
सरकारको कक्षा ५ सम्म परीक्षा नलिने नीति सकारात्मक भएको उल्लेख गर्दै उनले विद्यार्थीलाई निरन्तर गृहकार्यमार्फत सिकाइ प्रक्रियामा सक्रिय राख्नुपर्ने बताए ।








