‘दुई तिहाइ बहुमत नजिकको सरकारका नीति स्थिर हुनुपर्‍यो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई तिहाइ नजिकको बहुमत प्राप्त वर्तमान सरकारले स्पष्ट र स्थिर नीति अवलम्बन गर्दै मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित आगामी बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विगतमा नीतिगत अस्थिरताका कारण निजी क्षेत्र र लगानीकर्ताहरू प्रभावित भएको उल्लेख गरे। सरकार स्थिर नीति लिएर अघि बढे नेपालमा लगानीकर्ताको अभाव नहुने उनको भनाइ थियो ।

सरकारी प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेकोतर्फ संकेत गर्दै ढकालले अब ढिलाइ नगरी ती प्रतिबद्धता कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरे। उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावलाई केन्द्रमा राखेर आगामी बजेट ल्याउन आवश्यक छ ।

ढकालले बजेटले आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवर्द्धन र पूर्वाधार विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । पूर्वाधार आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउने प्रतिबद्धता जनाइए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको उनको गुनासो थियो ।

‘स्थिर सरकार र स्थिर नीति अहिलेको आवश्यकता हो। यदि स्पष्ट नीतिका साथ प्रतिबद्धता कार्यान्वयन गरियो भने छोटो समयमै अर्थतन्त्रले सकारात्मक गति लिन सक्छ,’ उनले भने ।

ढकालले महासंघले विभिन्न क्षेत्रका लगानीकर्तालाई समेटेर १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना गरेको जानकारी दिँदै स्वदेशी पुँजी परिचालनमार्फत ठूला आयोजना सञ्चालन गर्न सकिने सन्देश दिन खोजिएको बताए। वैकल्पिक वित्तसम्बन्धी कानुन छिटो कार्यान्वयनमा ल्याउन पनि उनले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशमा बहुविध कर प्रणालीले व्यवसायलाई जटिल बनाएको भन्दै त्यसलाई बजेटमार्फत एकीकृत गर्नुपर्ने धारणा राखे। उनले कर संकलन प्रणालीलाई एकीकृत गरी एकै स्थानबाट संकलन गर्ने व्यवस्था आवश्यक रहेको बताए ।

स्थानीय तहले व्यवसायमा नकारात्मक असर पर्ने गरी कर लगाउने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले संघीय सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । साथै चोरी पैठारीले स्वदेशी उद्योगमा असर पार्नुका साथै राजस्वसमेत गुमिरहेको भन्दै प्रभावकारी नियन्त्रण आवश्यक रहेको उनको भनाइ थियो ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले अस्थिर सरकार र नीतिका कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको बताए । उनले सरकारले निर्धारण गरेका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए। ‘स्मार्ट र कार्यान्वयनमुखी बजेट आवश्यक छ,’ उनले भने ।

मल्होत्राले नीतिगत स्थिरता कायम नगरे महत्वाकांक्षी आर्थिक लक्ष्यहरू हासिल गर्न कठिन हुने चेतावनी दिँदै निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कदम नचाल्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =