नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकार र आकर्षक नाराभन्दा पनि नतिजा देखिने गरी सुधारमुखी र रुपान्तरणकारी हुनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौँमा आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले विगतका बजेटहरू आकार, वितरण र लोकप्रिय घोषणामा सीमित भएको उल्लेख गर्दै अबको बजेटले ठोस नतिजा दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले सरकारलाई आफ्नै संस्थागत तथा वित्तीय क्षमताको यथार्थ मूल्याङ्कन गरेर मात्र लक्ष्य निर्धारण गर्न सुझाव दिँदै कार्यान्वयन क्षमताभन्दा बाहिरका महत्वाकाङ्क्षी लक्ष्यले नकारात्मक असर पार्न सक्ने बताए । साथै, अघिल्ला सरकारका सकारात्मक सुधार र प्रतिबद्धतालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

सरकारले हालै कानुनविपरीत लिइँदै आएका सेवा–सुविधा कटौती गर्ने निर्णयलाई सकारात्मक कदमको रूपमा उल्लेख गर्दै खनालले वित्तीय अनुशासनमा कडाइ गरिनु राम्रो संकेत भएको बताए । “मितव्ययिताका सवालमा अनुशासनको सुरुआत भएको छ, यसलाई निरन्तरता दिन जरुरी छ,” उनले भने ।

आर्थिक वृद्धिको लक्ष्यबारे उनले आगामी पाँच वर्षमा औसत सात प्रतिशत वृद्धि हासिल गर्ने सरकारी योजना महत्वाकाङ्क्षी रहेको उल्लेख गर्दै त्यसका लागि ठूलो लगानी, स्रोत व्यवस्थापन र नीतिगत स्थायित्व आवश्यक पर्ने बताए। प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य पनि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने सन्दर्भमा सरकार गम्भीर हुनुपर्ने बताउँदै उनले विशेषगरी जलविद्युत् क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउन जग्गा मुआब्जा, अनुमति प्रक्रिया र प्रशासनिक जटिलता समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

कर नीतिमा स्थायित्वको अभावले निजी क्षेत्रको मनोबल कमजोर बनाएको उल्लेख गर्दै उनले कम्तीमा १० वर्षसम्म कर दर स्थिर रहने स्पष्ट प्रतिबद्धता सरकारले दिनुपर्ने धारणा राखे। कर संरचनाका व्यवहारिक समस्याका कारण वैदेशिक व्यापारमा अपचलन देखिएको उनको विश्लेषण थियो ।

आन्तरिक उत्पादन वृद्धि र आयात नियन्त्रण आवश्यक भए पनि कर दर बढाएर मात्र लक्ष्य हासिल गर्न खोज्दा उल्टो परिणाम आउन सक्ने उनले बताए । रोजगारी सिर्जनाका लागि आन्तरिक लगानी वृद्धि अपरिहार्य रहेकोमा उनले जोड दिए ।

खनालले वर्तमान सरकारले कामलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले अघि बढ्नुपर्ने बताउँदै प्रशासकीय सङ्घीयतालाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै, निजी क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धामा आधारित भएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा सेजनका अध्यक्ष भागवत भट्टराईले आगामी बजेट कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =