सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनी: ‘संसद् छल्ने प्रयास नगर्नू’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले संसद् छल्दै अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै शाहीले संसदीय अभ्यासको पालना गर्दै सहकार्यका आधारमा अघि बढ्न सुझाव दिएका छन् । उनले बोलाइएको संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु प्रजातान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत भएको टिप्पणी गरेका छन् ।
शाहीले सरकारसँग संसद्मा झन्डै दुई तिहाइ बहुमत रहेको अवस्थामा प्रस्तावित विधेयक सहजै पारित हुन सक्ने उल्लेख गरे । “संसद्लाई छलेर होइन, सहकार्य गरेर अगाडि बढ्नुहोस्,” उनले भने, “यस्ता गतिविधिले दीर्घकालमा स्वयं प्रधानमन्त्रीलाई नै अप्ठ्यारो पार्न सक्छ ।”
उनले अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै विधेयकहरू संसद्बाटै अघि बढाउन र संसदीय प्रणालीको पूर्ण पालना गर्न सरकारलाई अपिल गरेका छन् ।








