३५ वर्षदेखि रहेका बेथितिहरूलाई सुधार गर्दैछौँः रास्वपा सांसद शाक्य

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले मुलुकमा रहेको विगत ३५ वर्षदेखिको बेथितिलाई सुधारर्ने गतिमा रास्वपा अघि बढेको बताएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८ औँ वार्षिक साधारणसभामा बोल्दै शाक्यले पुराना दलहरुले देशमा सिर्जना गरेको बेथितिलाई दुई तिहाइ बहुमत नजिकको सरकारले हटाउन चाहिरहेको बताए । ‘आज सम्मको ३५ वर्षको इतिहासमा जति पनि बेथितिहरु थिए, ती बेथितिहरुलाई थितिमा ढाल्ने प्रयास गर्दैछौं । एउटा आजसम्मको नमूना एमआरपी नहुँदाखेरि जुन किसिमको बजारमा अपारदर्शिता थियो त्यो एकखालको बेथिति पनि हो’ उनले भने ।
उनले मुलुकमा सुशासन स्थापना गराउन सरकार र संसदबाट महत्वपूर्ण भुमिका खेलिने बताए । शाक्यले बजारमा पारदर्शिता अभाव रहेको सन्दर्भमा एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रणाली लागू गर्ने कदमलाई सकारात्मक रहेको समेत बताए । ‘साना व्यवसायी र मझौला व्यवसायी कहिँ लोप हुने हो कि, कहिँ दुख पाउने हो कि, हराएर जाने हो कि भन्ने एउटा शंका मात्रै हो’ उनले भने ।
शाक्यले साना तथा मझौला व्यवसायीहरू हराउने वा विस्थापित हुने आशंका केवल भ्रम मात्र भएको भन्दै सरकार तथ्य, अध्ययन र सुझावका आधारमा मात्र नीति निर्माण गर्ने विश्वास व्यक्त गरे ।
नेपाल विकासशील देशतर्फ उन्मुख भइरहेको र आर्थिक स्तर उकास्ने दिशामा सरकार गम्भीर रहेको पनि उनले बताए ।









