ओखलढुंगाका सांसदको स्पष्टीकरण- ‘भिडियोका केही अंशले सन्दर्भ बङ्ग्यायो, व्यवहारप्रति क्षमायाचना’

काठमाडौँ । सांसद विश्वराज पोखरेलले सार्वजनिक भएको एक घटनासम्बन्धी भिडियो र त्यसले सिर्जना गरेको विवादबारे स्पष्टीकरण दिएका छन् ।
जारी प्रेस विज्ञप्तिमा उनले भिडियोका ‘केही क्षण’ मात्र काटछाँट गरेर सामाजिक सञ्जालमा फैलाइँदा घटनाको पूर्ण सन्दर्भ विकृत भएको बताएका छन्
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै जंगिएका थिए ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको चौतर्फि आलोचना सुरु भएको थियो ।
विज्ञप्तिअनुसार सांसद पोखरेल हालै जिल्लास्तरमा प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र सार्वजनिक सेवाको अवस्थाबारे बुझ्न गएको क्रममा उक्त घटना भएको हो । उनले स्थानीय तह, विद्यालय तथा समुदायसँग संवाद गर्ने उद्देश्यले पुगेको उल्लेख गर्दै, घटनाको आंशिक दृश्य सार्वजनिक हुँदा गलत धारणा बनेको दाबी गरेका छन् ।
यद्यपि, सार्वजनिक जीवनमा रहँदा आफ्ना बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै उनले भनेका छन्—यदि आफ्नो व्यवहारबाट कसैलाई असहजता, अपमान वा चोट पुगेको छ भने त्यसप्रति आफू हृदयदेखि नै क्षमाप्रार्थी छु । आगामी दिनमा अझ संयमित, जिम्मेवार र मर्यादित रूपमा जनताको सेवामा समर्पित रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
सांसद पोखरेलले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, विद्यालय परिवार र स्थानीय समुदायसँग पनि घटनाबाट पर्न गएको असरप्रति खेद प्रकट गरेका छन् । साथै, यस्ता घटनाबाट पाठ सिक्दै सार्वजनिक दायित्वप्रति थप जिम्मेवार बन्ने बताएका छन् ।










