तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु

सुर्खेत । कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना भएको छ ।
आज वीरेन्द्रनगरस्थित होटल शुभमा ‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने अभियानका साथ महोत्सवको औपचारिक समुद्घाटन गरिएको हो । कार्यक्रममा ‘चलचित्र पर्यटन संवाद’ समेत आयोजना गरिएको छ ।
उक्त उद्घाटन तथा संवाद कार्यक्रममा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, संघीय, प्रादेशिक र स्थानीय तहका प्रतिनिधिहरूका साथै चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डिसी, चलचित्र निर्देशक सन्तोष सेन र राप्रपा सांसद ज्ञानबहादुर शाहीको उपस्थिति रहेको थियो ।
यसैगरी, महोत्सवको दोस्रो दिन वैशाख १२ गते सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे दहमा विशेष ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
कर्णालीलाई चलचित्र पर्यटनको केन्द्र बनाउने बृहत् लक्ष्यसहित आयोजना भएको यस महोत्सवले राज्यको न्यून उपस्थिति रहेको यस क्षेत्रमा चलचित्रका माध्यमबाट सामाजिक, आर्थिक र शैक्षिक रूपान्तरण ल्याउने दाबी गरेको छ ।
महोत्सवले कर्णालीका लुकेका कथा, जीवनशैली, भाषा र भेषभूषालाई चलचित्रको पर्दामार्फत विश्वसामु पुर्याउने लक्ष्य राखेको छ ।








