उचित क्षतिपूर्तिसहित सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुम्बासी बस्तीलाई उचित क्षतिपूर्तिसहित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन भन्दा उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरीत सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी, बुट र बन्दुक देखाएर तर्साउनु र राज्य आतङ्क मच्चाउनुले सरकारको निरङ्कुश चरित्र देखाएको छ।’
दशकौँ पहिलेदेखि बसेका सुकुम्बासीहरूले आफ्नो जीवनभरको कमाइ लगाएर घर बनाएको उल्लेख गर्दै उनले तत्कालीन राज्य संयन्त्रको मौन सहमति वा इजाजत बिना ती बस्तीहरू नबसेको तर्क गरेका छन्। उचित व्यवस्थापन नगरी जनतालाई बेघर बनाएर सुशासन, आर्थिक उन्नति र विकास सम्भव नहुने उनको भनाइ छ।
श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकार विरोधी गतिविधिको सख्त निन्दा र भर्त्सना गर्दै नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।










