एमालेलाई नयाँ जीवनमा दिन नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ: शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीका नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधवार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेताहरूलाई एकताबद्ध बनाएर मात्रै मुलुकको भविष्यलाई अघि बढाउन सकिने सच्याइलाई पार्टीका नेताहरूले आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए ।
पार्टीका कार्यकर्ता र आम जनताले पनि नेताहरूले मिलेर मात्रै एमालेलाई नयाँ जीवन दिन सकिने र भविष्यमा आशा गर्न सकिने पार्टीको रुपमा अघि बढाउन सकिने निष्कर्ष सुनाएको महासचिव पोखरेलको भनाई थियो । उनले पार्टीभित्र देखिएको अराजकताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए ।
महासचिव पोखरेलले भने ‘अराजकता पार्टी सुदृढीकरणको आधार होइन । अराजकता सबलताको आधार होइन । अनुशासनहीनता हाम्रो समृद्धिको आधार होइन । हाम्रो सुरक्षित भविष्य होइन । यो सत्यलाई बुझेर हामीले हाम्रो पार्टी पंक्तिलाई अनुशासित बनाउनु पर्दछ । एकताबद्ध बनाउनु पर्दछ । भविष्यमुखी बनाउनु पर्दछ । र, भविष्यप्रति आशावादी बनाउनु पर्दछ । अहिले हामी जहाँ जाने पर्दछौ, कार्यकर्ताहरूले नेतृत्वबाट त्यही अपेक्षा गरेको छ । अहिले तपाईँहरू एकताबद्ध हुनुहोस् । पहिले तपाईँहरू कार्यकर्तातिर फर्कनुहोस् । जनतातिर फर्कनुहोस् । हामी फर्कन तयार छौँ भनेका छन् । त्यो सन्देश बोकेर हामी पार्टीलाई नयाँ जीवन प्रदान गर्नका लागि तयार छौँ । तयार हुनु पनि पर्दछ ।’
महासचिव पोखरेलले एमाले नेताहरूले जनतातिर फर्केर उनीहरूको हित हुने गरी पार्टी कामलाई अघि बढाउनुपर्ने बताए ।








