कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सवक सिकाए: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले जनताले सुध्रिने अवसर दिएको बताए ।
उनले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गरे । उनले जनताले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाईधुवाई गरेर फर्कन सवक सिकाएको उल्लेख गरे । उनकाअनुसार हाल देखिएको राजनीतिक धक्कालाई गम्भीर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्ने बताए । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने उनको भनाई छ ।
उनले भने ‘अहिले क्षणिक रुपमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ । यी धक्काहरू जो खाइन्छ, बेलाबेलामा । ती हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाईधुवाई गरेर आऊ भनेर सवक सिकाएको हो । त्यसकारण हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरको रुपमा पनि यसलाई लिनुपर्छ ।’
उनले कम्युनिस्टहरूमा गल्ती स्वीकार गर्ने र सुर्धान सक्ने क्षमता रहेको बताए ।








