सभामुखद्वारा कूटनीतिक राहदानी वितरणबारे दलहरूसँग परामर्श

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीबारे छलफल सुरु गरेका छन् ।
बुधवार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर उनले कूटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।
कूटनीतिक राहदानीको माग सांसदहरूले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले बताएकी हुन् ।
विगतमा सांसदहरूले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमति गरिएको पनि उनले बताइन् । विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानुनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूले धारणा सो अवसरमा राखेका थिए ।
प्रमुख सचेतक ओलीले भनिन् ‘विभिन्न प्रतिनिधिसभा सदस्यहरूले कूटनीतिक राहदानीको माग आइरहेका बेला त्यसलाई कसरी अगाडि बढाउने भनेर हामी सबै पार्टीका सचेतक, प्रमुख सचेतक सभामुखले बोलाउनुभएको थियो । यसमा राहदानी ऐन, २०७६ ले र नियमावलीअनुसार विशेष सरकारी कार्यक्रमहरूमा वा विशेष काममा जाँदा तोकेका पदाधिकारीहरूले मात्रै पाउने कुरा रहेछ । तर धेरै माननीयहरू विभिन्न कारणले विदेशमा जानुपर्ने भएकाले अहिलेको ऐन र नियम अनुसार अहिलेको नियम र ऐन र नियमावलीमा चाहिँ त्यो दिन नमिल्ने भएकाले आगामी दिनमा माननीयजीहरूलाई कसरी सहजीकरण गर्ने भनेर राय सल्लाह विभिन्न दलका तर्फबाट लिनका लागि बोलाउनु भएको हो । किनभने कुनैपनि प्रतिनिधि सभा सदस्य विदेश जाँदाखेरि उसले देशको नै रिप्रिजेन्ट गरेर जाने हो । राष्ट्रको गरिमामा पनि आँच नआओस्, ऐन, नियम र कानुन भन्दा बाहिर गएर काम नहोस् भनेर त्यसलाई कसरी परिमार्जित गर्ने भनेर यही विषयमा छलफल भएको हो । हामी सबै सचेतक प्रमुख सचेतकहरूले आ आफ्नो दलमा छलफल गरेर फेरि अर्को बैठक बस्ने कुरा भयो । यसमा परराष्ट्रका अधिकारीहरूले पनि हामीलाई कानुनी व्यवस्थाको बारेमा बताउनु भएको छ । यसैको आधारमा फेरि अर्को बैठक बस्नेछ । केही सांसदहरूले केही एप्लीकेशनहरु आएको भएर सांसद भएपछि अव विदेशबाट निम्तो पनि आउँछ । पहिलाको अभ्यास हेर्दा सजिलै पाउने अवस्था थियो । पहिला कानुनमा किन पालना भएन त भन्ने विषयमा पनि विचार विमर्श भयो । राहदानीका लागि निवेदन आएको हुनाले यसलाई बहसमा नै लगेर विचार विमर्श गरौँ भन्ने भएको छ । विगतमा पासपोर्ट दुरुपयोग पनि भएका छन् । त्यो नहोस् भनेर सबैभन्दा इम्पोटेन्ट त कानुन हो । त्यही कानुन हालका लागि पालना गरौँ भन्ने हो ।’
छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कूटनीतिक राहदानीको प्रयोग सम्बन्धी विद्यमान कानुन व्यवस्था बारे ब्रिफिङ गरेका थिए ।









