सुकुम्बासीको उठिबास गराउने कार्य रोक्न सरकारसँग नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्प र पुनर्वासको व्यवस्था बिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीले उक्त कार्यलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारहरू बिचल्लीमा परेको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने जोखिम बढेको उल्लेख गरिएको छ ।

‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नयाँ सरकार गठनपछि बजारमा महँगी र कालोबजारी बढेको आरोप लगाउँदै नेकपाले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ ।

पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गर्दै यस्तो कदमले लोकतान्त्रिक अधिकारमाथि आघात पुग्ने जनाएको छ । साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले पनि संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लंघन हुने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै सकारात्मक कदमहरूलाई स्वागत गरिएको छ । तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिप्रति भने चिन्ता व्यक्त गरिएको छ ।

नेकपाले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।

‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =