युवा संघमा आवद्ध निराजन पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) ज्यानमार्ने उद्योग तथा हातहतियार सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न अभियोगमा मौखिक तथा लिखित उजुरी परेपछि पौडेललाई पक्राउ गरिएको हो । उनका अनुसार ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले उनलाई बिहीबार बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ । पक्राउपछि उनले आफू ठेक्कापट्टाको काममा संलग्न रहेको बताएका छन् ।
प्रहरीका अनुसार पौडेल विवादास्पद पृष्ठभूमिका ‘चक्रे मिलन’ समूहसँग सम्बन्धित रहेको र सार्वजनिक शान्ति खलल पार्ने गतिविधिमा सक्रिय रहेको आशंका गरिएको छ ।
हाल उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ भने अन्य आरोपहरूको अनुसन्धान जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।









