रास्वपाकी सचेतक धिताल भन्छिन्: पत्रकारितामा बौद्धिक आलोचना आवश्यक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले अझ गहिरो र बौद्धिक आलोचनात्मक प्रश्न उठाउनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मुख्यधार मिडिया र युट्युब च्यानलहरूबीचको दूरी पनि प्रश्नको स्तरले निर्धारण हुने बताएकी छन् ।

‘म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस्,’ उनले लेखेकी छन्, ‘मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ। प्रश्न गर्ने स्तर उकास्नुहोस् ।’

धितालले केही युट्युब च्यानलहरू मुख्यधारका मिडियासँग प्रतिस्पर्धामा उभिएको उल्लेख गर्दै आवश्यक परे त्यहाँबाट सिक्न सकिने बताइन् । उनले आफूहरू गम्भीर र तथ्यपरक प्रश्नहरूको जवाफ दिन तयार रहेको समेत स्पष्ट पारेकी छन् ।

यसैबीच, सामाजिक सञ्जालमा महिलाको प्रस्तुति, हिँडाइ वा हाँसोलाई वस्तुकरण गर्ने प्रवृत्तिप्रति पनि उनले चिन्ता व्यक्त गरेकी छन् । राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासले गलत संस्कारलाई बलियो बनाउने उनले उल्लेख गरिन् ।

मिडियालाई केवल सूचना दिने माध्यम नभई समाजको चेतना निर्माण गर्ने शक्तिका रूपमा व्याख्या गर्दै उनले यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।

पत्रकारिता पृष्ठभूमिबाट आएकी धितालले मिडिया समुदायप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै केही प्रवृत्तिहरू सुधार गर्न आवश्यक देखेर यो विषय उठाएको बताइन् ।

विशेषगरी, महिला अन्तर्वार्तामा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यासप्रति उनले आपत्ति जनाइन् । यस्तो शैलीले महिलालाई विषयवस्तुबाट हटाएर बाह्य रूपमा सीमित गर्ने संरचनागत समस्या झल्काउने उनको भनाइ छ ।

समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताउँदै उनले बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले मुद्दालाई ओझेलमा पार्ने र सार्वजनिक बहसको स्तर घटाउने उल्लेख गरिन् ।

‘तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्यांकन गर्ने होइन,’ उनले पत्रकारहरूलाई सचेत गराउँदै भनिन्, ‘सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन् । त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =