‘गुराँसको राजधानी’ मा पर्यटकको भीड (तस्बिरहरु)

काठमाडौं । लालीगुराँस नगरपालिका–१ अन्तर्गत पर्ने तिनजुरे, मिल्के र जलजले क्षेत्रमा गुराँस फुल्न थालेसँगै पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ ।
‘गुराँसको राजधानी’ भनेर चिनिने यस क्षेत्र अहिले रंगीन गुराँसले ढाकिँदा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण बनेको छ ।
नयाँ वर्ष अर्थात् वैशाख १ गते मात्रै करिब २५ हजार पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रमुख रुपेश तामाङले जानकारी दिए ।
उनले भने, ‘नयाँ वर्षको दिन अत्यधिक भीड देखियो । पूर्वका विभिन्न जिल्ला मात्र होइन, भारतको विहारबाट समेत पर्यटक आएका छन् । सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर हामीले विशेष निगरानी गरेका थियौं ।’
उनका अनुसार सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटालगायत पहाडी जिल्लाका साथै सुनसरी, मोरङ, झापा र छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरू आइरहेका छन् । चैतको दोस्रो सातादेखि गुराँस फुल्न सुरु भएसँगै दैनिक करिब पाँच हजार पर्यटक तिनजुरे, मिल्के र जलजले क्षेत्रमा पुग्ने गरेको होटल व्यवसायी सङ्घ वसन्तपुरका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

श्रेष्ठ भन्छन्, ‘गुराँस फुल्न थालेपछि पर्यटकको संख्या एक्कासि बढेको छ । होटेलहरू भरिभराउ छन्, व्यवसाय पनि राम्ररी चलिरहेको छ । यदि यस्तै अवस्था रहिरह्यो भने यो सिजन निकै फलदायी हुने अपेक्षा गरेका छौं ।’
तिनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारस्थित चोत्लुङ पार्क, तिनजुरे क्षेत्रको आरआर गार्डेन, पाथीभरा मन्दिर, तिनजुरे पिक, पाँच पोखरी र गुफापोखरी अहिले पर्यटकले भरिभराउ छन् । वनजंगलभरि फुलेका राताम्य गुराँसले यहाँको सौन्दर्य झनै आकर्षक बनाएको छ। यस क्षेत्रमा २८ प्रजातिका गुराँस पाइने भएकाले जैविक विविधताको हिसाबले पनि यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ ।
पर्यटन पूर्वाधार विस्तारका लागि वसन्तपुरस्थित नयाँ सहर आयोजनाले करिब साढे १० करोड रुपैयाँ बराबरका संरचना निर्माण गरेको जनाएको छ। कार्यालय प्रमुख सुदीप झाले भने, ‘पर्यटकलाई सहज र आकर्षक अनुभव दिनका लागि पिकनिक स्पट, शौचालय, ओपन थिएटर जस्ता संरचना निर्माण गरेका छौं। थप सुधारका कामहरू पनि जारी छन् ।’
त्यसैगरी तिनजुरे जाने सडकका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको छ भने पाथीभरा मन्दिर जाने सिँढीमार्गमा छाना जडान गरिएको छ, जसले यात्रुलाई थप सहज बनाएको छ ।

स्थानीय व्यवसायीका अनुसार पहिले हिउँ पर्ने सिजनमा बढी पर्यटक आउने गर्थे, तर पछिल्लो समय हिउँ पर्न कम भएपछि गुराँस फुल्ने समय नै मुख्य आकर्षण बनेको छ। टुटेदेउरालीस्थित हिमगङ्गा होटलका सञ्चालक श्री कार्की भन्छन्, ‘अहिले गुराँस फुल्ने सिजन नै सबैभन्दा व्यस्त हुन्छ । नयाँ वर्षमा त झन् अत्यधिक भीड हुन्छ । पर्यटकको संख्या हरेक वर्ष बढ्दो छ ।’
पर्यटकहरू पनि यहाँको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएका छन् । झापाबाट परिवारसहित नयाँ वर्ष मनाउन आएका आयुष्मा राईले आफ्नो अनुभव सुनाउँदै भने, ‘तिनजुरे क्षेत्रको नाम धेरै सुनेको थिएँ, तर पहिलो पटक आउँदा अपेक्षा भन्दा धेरै सुन्दर लाग्यो। चिसो मौसम, स्वच्छ हावा र जंगलभरि फुलेका गुराँसले मन नै लोभ्यायो ।’
त्यस्तै, सुनसरीको इटहरीबाट आएका सुरेन्द्र क्षेत्रीले पनि तिनजुरे क्षेत्रको प्रशंसा गर्दै भने, ‘यो ठाउँ साँच्चिकै घुम्नैपर्ने गन्तव्य रहेछ। प्रकृति प्रेमीका लागि त झन् स्वर्गजस्तै लाग्यो । एकपटक होइन, फेरि–फेरि आउन मन लाग्ने ठाउँ हो ।’
बाह्रै महिना पर्यटक आउने तिनजुरे, मिल्के र जलजले क्षेत्रमा विशेष गरी गुराँस फुल्ने र नयाँ वर्षको समय अत्यधिक भीड हुने गरेको छ । प्राकृतिक सौन्दर्य, पूर्वाधार विकास र सहज पहुँचका कारण तिनजुरे, मिल्के र जलजले क्षेत्र पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।










