संसदीय समितिको नेतृत्व चयनमा विधि मिचिएको भन्दै सांसदहरूको आपत्ति

काठमाडौँ । प्रतिपक्ष दलहरूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारी निर्वाचित गरिएकोमा आपत्ति जनाएका छन् ।
शुक्रवार भएको समिति सभापतिको निर्वाचनमा नेपाली काँग्रेसका सांसद प्रकाशसिंह कार्की, एमाले सांसद क्षितिज थेवे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद निराशा चौधरी (डगौरा) लगायतका प्रतिपक्ष दलका सांसदहरूले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि नामावलीमा समावेश गरेर गैरकानूनी ढंगले सभापतिको उम्मेदवार बनाइएको भन्दै अन्सारीलाई सभापतिको उम्मेदवार बनाएकोमा आपत्ति जनाएका हुन् ।
एमालेका सांसद थेवेले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि अन्सारीको नाम समितिमा ल्याएर विधि र विधान विपरीत उम्मेदवार बनाउने काम गरिएको भन्दै मान्य नहुने चेतावनी समेत दिए ।
उनले भने ‘सम्माननीय सभामुखज्यूले ४ गते सभापतिको निर्वाचनको मिति तोकेपछि हिजो ४ बजेसम्म त्यसको उम्मेदवारी दर्ता थियो । तर निर्वाचन प्रक्रिया सुरु भइसकेपछाडि नामावली हेरफेर गर्ने यो कस्तो विधिसम्मत प्रक्रिया हो यो ? निर्वाचन प्रक्रिया सुरु भइसकेपछि कुन विधिले नामावली हेरफेर गर्ने कुन विधिले दिन्छ रु यसरी कसरी अघि बढ्न खोजिएको हो ? व्यक्तिको कुरामा, सभापति बनाउने कुरामा हाम्रा दावा छैन । र हाम्रो त्यसमा व्यक्तिको बारेमा प्रश्न उठाएनौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रहवर अन्सारीलाई निर्णय गरेर पठाउनु भयो । व्यक्तिमा हामीलाई कुनै समस्या छैन । तर हिजो निर्वाचन प्रक्रिया भइन्जेलसम्म रहवर अन्सारी नाम नै समितिमा थिएन । तर उम्मेदवारी दिएपछि नामावली चेन्जफेन्ज गरियो । यो कुन विधि, प्रक्रियामा ल्याइयो ? बलजफ्ती अगाडि बढ्ने कि विधिसम्मत अगाडि बढ्ने ? यसलाई थप विधि प्रक्रिया गराएर, आजबाट विधि प्रक्रिया अघि बढाएर भोली पनि सभापति चुन्न सकिन्छ । भोली पनि हामी उहाँलाई नै सभापति बनाउन सक्छौँ । किनभने हामीले व्यक्तिमा कुनै कुरा उठाएका छैनौँ । तर विधि, प्रक्रिया र नियमको कुरा हो नि त । निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै नामावली हेरफेर गरेर अगाडि बढाएको थियो । वा हाउसमा हामीले अनुमोदन गरिसकेको नामावलीलाई सूचना टाँस गरेर यो विधि प्रक्रिया अघि बढाइएको थियो वा यो समितिको बैठकले नामावली पास गरेको भए हामीले यो विधि र प्रक्रियालाई मान्य थियौँ । यो कस्तो विधि र प्रक्रिया हो ? जसलाई मानेर अघि बढ्ने ? भन्ने प्रश्न गर्न चाहन्छु ।’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद निराशा चौधरी (डगौरा) ले पनि निर्वाचन प्रक्रिया सुरु हुन अघि समितिको मतदाता नामावलीमा समावेश नभएका अन्सारीलाई सभापतिको उम्मेदवार मान्न नसकिने अडान राखिन् । उनले समितिको सदस्य नै नभएको व्यक्ति सभापतिको उम्मेदवार बनाउने कुरा विधिसम्मत नभएको तर्क समेत गरिन् ।
सांसद चौधरीले भनिन् ‘हामीले जसरी गरिराखेका छौ, त्यो यो मतदाता नामावली विपरीत यसमा हाम्रो उम्मेदवारी रहेको छ । यसमा हाम्रो सहमति छैन । नियम विपरीत भएको कारणले मान्य छैन । विधिको कुरा गर्छौ, तर यो उम्मेदवारी विधि विपरीत छ ।’
प्रतिपक्ष दलहरूले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) को तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका अन्सारी सो समितिको निर्वाचन प्रक्रिया सुरु हुनअघि सदस्य नरहेकाले उनको उम्मेदवारी विधिसम्मत नभएको तर्क गरेका हुन् । संसदीय अभ्यासमा समितिको नाम हेरफेर गर्न प्रतिनिधि सभाको बैठकको अनुमति लिने परम्परा छ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुने दिन सांसदहरूको समिति तोक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी शिक्षा तथा स्वास्थ्य समितिमा परेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक व्यवस्थापन मिलाउँदा अर्कै समितिमा सदस्य भएका अन्सारीलाई उद्योग समितिमा सभापति बनाउन ल्याएको थियो । तत्काल सभाको बैठक नबसेको तर जसरी पनि नाम हेरफेर गर्नुपर्ने भएकोले सभामुख डोलप्रसाद अर्यालले नियमावली को विशेषाधिकार प्रयोग गरेका थिए ।
यसरी नाम हेरफेर गर्दा विधि मिचिएको भन्दै विपक्षी सांसदहरूले प्रश्न उठाए पनि बैठकको समिति सभापतिमा सांसद रहबर अन्सारीलाई चुनेको छ ।









