भारतको थोक मुद्रास्फीति ३ दशमलव ८८ प्रतिशतले बढ्यो

भारत । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको मार्च महिनामा भारतको थोक मूल्य सूचकाङ्क (डब्लूपीआई) मा आधारित मुद्रास्फीति ३.८८ प्रतिशत पुगेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अखिल भारतीय थोक मूल्य सूचकाङ्क (डब्लूपीआई) मा आधारित वार्षिक मुद्रास्फीति दर मार्च २०२६ मा (मार्च २०२५ को तुलनामा) ३.८८ प्रतिशत (प्रारम्भिक) रहेको छ ।
विज्ञप्तिकाअनुसार मार्च २०२६ मा मुद्रास्फीति दर धनात्मक हुनुको मुख्य कारण कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, अन्य निर्माण, गैर–खाद्य वस्तुहरू, आधारभूत धातुहरूको उत्पादन र खाद्य वस्तुहरू आदिको मूल्यमा भएको वृद्धि हो ।
यसअघि डब्लूपीआई मुद्रास्फीति दर फेब्रुअरीमा २.१३ प्रतिशत (प्रारम्भिक) र जनवरीमा १.६८ प्रतिशत (अन्तिम) रहेको थियो । थोक बजारको मूल्य सूचकका रूपमा लिइने डब्लूपीआई मुद्रास्फीति मुख्यतया विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा आउने तीव्र उतारचढावका कारण घटबढ हुने गर्दछ ।
मार्च महिनामा डब्लूपीआई खाद्य मुद्रास्फीति १.८५ प्रतिशतमा स्थिर रहेको छ । प्राथमिक वस्तु समूहका खाद्य वस्तु र उत्पादित वस्तु समूहका खाद्य उत्पादनहरू समावेश गरिएको खाद्य सूचकाङ्क फेब्रुअरी २०२६ को १९२.९ बाट सामान्य घटेर मार्च २०२६ मा १९२.८ कायम भएको छ ।
प्राथमिक वस्तु समूहको सूचकाङ्क फेब्रुअरी २०२६ को १९२.९ (प्रारम्भिक) बाट २.२८ प्रतिशतले बढेर मार्च २०२६ मा १९७.३ (प्रारम्भिक) पुगेको छ । इन्धन र ऊर्जा समूहको सूचकाङ्क फेब्रुअरी २०२६ को १४७.६ (प्रारम्भिक) बाट ४.१३ प्रतिशतले बढेर मार्च २०२६ मा १५३.७ (प्रारम्भिक) पुगेको छ ।
उत्पादित वस्तु समूहको सूचकाङ्क फेब्रुअरी २०२६ को १४८.२ (प्रारम्भिक) बाट ०.८८ प्रतिशतले बढेर मार्च २०२६ मा १४९.५ (प्रारम्भिक) पुगेको छ ।








