टर्किएमा विद्यालयभित्र गोली चल्दा १६ जना घाइते, आक्रमणकारीले गरे आत्महत्या

एजेन्सी । स्थानीय सञ्चारमाध्यमकाअनुसार दक्षिण–पूर्वी टर्कीको एक विद्यालयमा मङ्गलवार भएको गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । एक पूर्व विद्यार्थीले शटगनसहित विद्यालय प्रवेश गरी अन्धाधुन्ध गोली चलाएपछि आत्महत्या गरेको बताइएको छ । घाइते हुनेहरूमा अधिकांश विद्यार्थी रहेका छन् ।

यो घटना दक्षिण–पूर्वी प्रान्त सानलिउर्फाको सिभेरेक जिल्लास्थित अहमद कोयुन्कु भोकेसनल एण्ड टेक्निकल एनाटोलियन हाई स्कूलमा बिहानको समयमा भएको हो । सानलिउर्फाका गभर्नर हसन सिल्डाकका अनुसार सन् २००७ मा जन्मिएका ती बन्दुकधारी पहिले सोही विद्यालयमा अध्ययनरत थिए र पछि खुल्ला उच्च माध्यमिक कार्यक्रममा स्थानान्तरण भएका थिए ।

उनको कुनै आपराधिक पृष्ठभूमि नरहेको र उनले विद्यालयको करिडोरमा पम्प–एक्शन शटगनबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ । उनको शवलाई विद्यालयबाट निकालेर पोस्टमार्टमका लागि सानलिउर्फा फरेन्सिक मेडिसिन इन्स्टिच्युटको शवगृहमा पठाइएको छ ।

घाइतेहरूमा १० जना विद्यार्थी, चार शिक्षक, एक क्याफेटेरिया कामदार र एक प्रहरी अधिकृत रहेको सिल्डाकले जानकारी दिए । तीमध्ये अधिकांशको स्थानीय अस्पतालमा उपचार गरिएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई प्रान्तीय राजधानीको अस्पतालमा पठाइएको उनले बताए ।

गभर्नरले यस आक्रमणलाई एक छिटपुट घटनाको रूपमा वर्णन गरेका छन्। उनले ७४३ विद्यार्थी संख्या रहेको उक्त विद्यालयलाई उच्च जोखिमयुक्त नमानिएको र त्यहाँ स्थायी रूपमा प्रहरी परिचालन नगरिएको पनि स्पष्ट पारे ।

अर्ध–सरकारी अनादोलु एजेन्सीले सानलिउर्फा प्रान्तीय राष्ट्रिय शिक्षा निर्देशक असिम सुल्तानोग्लुलाई उद्धृत गर्दै विद्यालयको पठनपाठन चार दिनका लागि स्थगित गरिएको जनाएको छ । सुल्तानोग्लुका अनुसार विद्यार्थी र शिक्षकहरूका लागि पुनस्र्थापना तथा परामर्शका कार्यहरू सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =