नयाँ वर्ष २०८३: आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

भक्तपुर । नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीय स्थल नगरकोटबाट रानीकोटसम्मका होटेल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटेल व्यवसायी उत्साहित भएका छन् ।

पर्यटन व्यवसायमा विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँवर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् ।

नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटेल भरिभराउ भएका व्यवसायी बताउँछन् । २०८२ को बिदाइ गर्दै २०८३ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटको आकर्षण थप बढाएका होटेल व्यवसायी एवं होटेल चौतारीको सञ्चालक बद्री माकले बताए ।

अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको बताउँदै माक भन्छन् , “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटेल भरिएका छन् ।”

सामान्यदेखि फाइभ स्टारसम्मका होटेल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि व्यवसायी थप होटेल र कोठा थप्न उत्साहित भएका बताउँदै नगरकोट बेसक्याम्पका सञ्चालक अनुप केसीले नगरकोटमा थप होटेल खुल्नेक्रम जारी रहेको उल्लेख गरे । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मज्जा लिन यहाँ पर्यटकको आगमन बढेको बताउँदै सञ्चालक केसीले व्यवसायी उत्साहित भएका बताए ।

अर्का पर्यटन व्यवसायी एवं होटेल ‘पिसफुल’ नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले नयाँ वर्षले पर्यटन व्यवसायीलाई उत्साह थपेको बताउँदै यस वर्ष विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको जानकारी दिए ।

विदेशीभन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटेल भरिएका व्यवसायी एवं होटेल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछानेले बताए । उनले भने, “मैले होटेल क्षेत्रमा काम गरेको २७ वर्ष भयो । पछिल्ला केही वर्षयता कोरोनाले थला पारेको व्यवसायलाई उठाएको छ, नयाँ होटेल थपिँदै छन् ।”

नगरकोटमा सामान्यदेखि सात स्टारसम्मका होटेल सञ्चालनमा आएका नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका अध्यक्ष नवीन लामाले जानकारी दिए । नगरकोट भ्रमण वर्ष २०८२ ले पनि पर्यटकको आगमन बढाएको उनको भनाइ छ ।

केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटेल नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिएका छन् ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रात भरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ ।

पर्यटन व्यवसायी बके भन्छन्, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटेल भरिएका छन्, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेपछि व्यवसायी उत्साहित भएका छन् ।”

सहज पक्की सडकदेखि सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्राको रुटल, सूर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटोदूरीको सडक, रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उनले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटेल खचाखच भएको बताए ।

नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेले भने, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि त्यही मल्ल राजाहरुले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको छ ।”

नयाँ वर्ष आफ्नो होटेल सात दिनअघिदेखि नै बुक भएको बताउँदै उनले यहाँको रानीकाट गढी, बाघ भैरवलगायत ऐतिहासिक पर्यटकीय क्षेत्र पनि घुम्न पाइने बताए । सूर्यविनाकबाट घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिने यस क्षेत्रमा पर्यटकको आगमन बढेसँगै दर्जनभन्दा बढी नयाँ होटेल थप भएका छन् ।

‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटेल व्यवसायमा उत्साह थपेको बताए । घ्याम्पेडाँडामा अहिलेसम्मको बढी लागतमा निर्माण भएको होटेलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउँदै उनले नयाँ वर्षमा यहाँको होटेल खचाखच भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =