हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर बिनुकुमारी शाहीसहित पाँच जनालाई सफाइ

ललितपुर । हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिएको आरोपमा दायर मुद्दामा जिल्ला अदालत ललितपुरले प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनालाई सफाइ दिएको छ ।
मंगलबार न्यायाधीश ढाकाराम पौडेलको इजलासले अभियुक्तमध्ये तजम्मुल इसलामलाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई आरोपबाट मुक्त गरेको हो ।
यस प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते छ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा प्रहरी निरीक्षक शाहीसहित सुस्मा विश्वकर्मा, ताजमूल उर्फ तजम्मुल इसलाम, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेललाई प्रतिवादी बनाइएको थियो। शाही र पोखरेल भने पछि अदालतमा उपस्थित भएका थिए ।
अदालतले तजम्मुल इसलामलाई दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको स्रोतले जनाएको छ ।
उक्त घटनामा संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट ३० लाख रुपैयाँ असुल गरिएको आरोप थियो । जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिँदै सुरुमा ६० लाख रुपैयाँ माग गरिएको अभियोग थियो ।
अभियुक्तहरूले राईलाई बुंगमतीस्थित प्रहरी प्रभागमा पुर्याएर प्रहरी निरीक्षक शाहीकै अगाडि रकम माग गरेको आरोप लागे पनि अदालतले उक्त आरोपमा शाहीसहित अन्यलाई सफाइ दिएको हो ।









