संसदमा एमाले चुप लागेर बस्दैनः गुरु बराल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको कामकारबाहीमाथि संसदमार्फत कडा निगरानी राख्ने र आवश्यक परे सशक्त खबरदारी गर्ने स्पष्ट संकेत दिएको छ ।
संघीय संसद सचिवालयले सोमबार आयोजना गरेको सर्वदलीय बैठकपछि एमाले नेताहरूले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता गुरु बरालले विधिको शासन र कानुन कार्यान्वयनमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने बताएका छन् । “जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमाथि प्रश्न उठ्छ, त्यहाँ एमाले चुप लागेर बस्दैन,” उनले भने ।
उनका अनुसार सरकारले नागरिकका मौलिक तथा राजनीतिक अधिकार प्रयोगमा अवरोध सिर्जना गरे संसदमै कडा प्रतिवाद गरिनेछ । उनले संविधानले सुनिश्चित गरेका अधिकारहरूको संरक्षणका लागि एमालेले सरकारलाई निरन्तर ‘चेक एण्ड ब्यालेन्स’मा राख्ने रणनीति लिएको पनि बताए ।









