जलवायु संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्यः मन्त्री चौधरी

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले नेपालजस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकहरूलेसमेत जलवायु परिवर्तनको असर भोग्नुपरेको उल्लेख गरे ।

उनले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताए । जलवायु प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी पेस गरिसकेको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेको बताए ।

उनले जलवायु संकटको दिगो समाधानका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमबीचको बलियो सहकार्य अपरिहार्य रहेको बताए । वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरले समेत प्रशंसा गरेको चर्चा गर्दै वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उनकाे भनाइ छ ।

‘जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन । यो आर्थिक, सामाजिक, मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ । नेपालजस्तो न्युन कार्बन उत्सर्जन गर्ने देशले पनि जलवायु परिवर्तनका असरहरु अत्याधिक भोग्नुपरिरहेको छ’ उनले भनिन् ‘जलवायु परिवर्तनको सामना गर्नु हामी सबैको साझा जिम्मेवारी हो भन्ने भावना विकास गर्न आवश्यक छ ।’

जलवायु परिवर्तनको असर कम गर्न तथा जलवायु प्रतिकार्यका लागि सरोकारवाला सबै जिम्मेवार हुन जरुरी रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =