कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन प्रतिबद्ध छुः कानूनमन्त्री गौतम

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री गौतमले संघीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताए ।
उनले सरकारलाई जबाफदेही बनाउन संघीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिए ।
मन्त्री गौतमले भनिन्,‘अब ढिलाइ गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्ने साहस देखाउनै पर्दछ । र, काम गर्ने संसद्को पहिचान स्थापित गर्नपर्दछ । म कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिबद्ध छु भन्ने कुरा पनि संसदमार्फत निवेदन गर्न चाहन्छु ।’
मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसद्मा ढिलाइ गर्ने छुट नभएको पनि स्पष्ट पारिन् ।









