भूसेवा फर्म आन्दोलनका कारण २ दिनदेखि सुनसरी मालपोत सेवा ठप्प, दैनिक १ करोड राजश्व प्रभावित

काठमाडौँ । छापामारीको क्रममा पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै व्यवसायीले भू–सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प बनेको छ ।

दैनिक सरदर १ करोड हाराहारी राजश्व संकलन गर्दै आएको भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी हिजैबाट सुनसान छ । फाट्टफुट्ट आएका सेवाग्राही समेत भू–सेवा नहुँदा मार्कामा परेका छन् । इजाजत पाएका फर्मले सेवा बन्द गरिदिँदा कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । आएका सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् ।

कार्यालय परिषर बाहिर रहेका भू–सेवा केन्द्रले काम रोक्दा मालपोतको सम्पूर्ण सेवा बन्द हुने गरेको छ । जसले गर्दा समेत कार्यालय सुनसान बन्न पुगेको छ । कार्यालयमा भू– सेवा डेस्क नहुनु र आन्दोलन भैगएमा के गर्ने भन्ने पूर्व तयारी समेत नभएकाले मालपोतको कामकाज पूर्ण ठप्प बन्न गएको देखिएको छ ।

सुनसरी इनरूवा मालपोतबाट भू–सेवा इजाजत लिने फर्मको संख्या ५२ रहेको छ । निरन्तर सेवा सञ्चालनमा रहेका भू–सेवा केन्द्रको संख्या भने दुई दर्जन छ । सरकारको निर्देशनमा भएको अनुगमनका क्रममा सुनसरी मालपोतबाट १३ जनालाई सार्वजनिक सेवामा बाधा पुर्याएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

सोही पक्राउको विरोधमा भू–सेवा केन्द्र र लेखापढी फर्म आबद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिदा कार्यालयको सेवा नै प्रभावित बन्न पुगेको छ । प्रहरीले सुनसरी मालपोत र यातायात कार्यालय इटहरीबाट गरी १८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरू सबैको हकमा ५ दिन म्याद थप गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =