काँग्रेस २०४८ को ‘प्रश्नपत्र’ बोकेर ८२ को समाजशास्त्रको परीक्षा दिन गएकाले हार्‍यो: महर (भिडिओ)

काँग्रेस अहिले गम्भीर बिरामी छ र यसको उपचार केवल शल्यक्रिया हो

काठमाडौँ । नेपाली राजनीतिको रङ्गमञ्चमा फागुन २१ गतेको घटना एउटा सामान्य सत्ता समीकरणको फेरबदल मात्र थिएन, यसले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलाई एउटा गम्भीर ऐना देखाएको छ । एकातिर सत्ताबाट बाहिरिएर सदनको ‘कुना’ मा खुम्चिनुपर्ने बाध्यता, अर्कोतिर नयाँ उदीयमान शक्तिहरूको चुनौती र पार्टीभित्रै मौलाएको गुटबन्दीको ऐँजेरु । यही जटिल मोडमा उभिएर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता नैन सिंह महरले संवादको क्रममा पार्टीको भविष्य र वर्तमान संकटबारे निर्मम चिरफार गरेका छन् । डडेलधुराको निर्वाचनमा पार्टीभित्रको आन्तरिक दाउपेचको मारमा परेका महरको शब्दमा अहिले काँग्रेसले आफ्ना सबै पुराना मान्यता र कार्यशैलीलाई ‘डिकन्स्ट्रक्सन’ (विघटन) गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको छ ।

काँग्रेसको हारको प्रमुख कारण समयचेतमा देखिएको जडता रहेको हो?

नेता महर भन्छन्, “हामीले २०४८ सालको मानसिकता र त्यतिबेलाको समाजशास्त्रको अध्ययन गरेर २०८२ सालको चुनाव लड्ने गल्ती ग¥यौँ । जहाँ न प्रश्नपत्र मिल्यो, न उत्तर मिल्यो।”

महरकाअनुसार नेपाली समाजले चेतना र प्रविधिको क्षेत्रमा जति ठुलो फड्को मारिसकेको छ, काँग्रेसको नेतृत्व र कार्यशैली अझै पनि मुम्बईबाट आएका माइक र पम्प्लेट बाँडेर चुनाव जित्ने पुरानो ढर्रामै अल्झिएको छ ।

यो केवल चुनावी हारको कुरा मात्र होइन, बरु समाजको बदलिएको ‘सोसियोलोजी’ बुझ्न नसक्नुको परिणाम हो?

“भविष्य कहिलेकाहीँ यति छिटो आइदिन्छ कि त्यसको तयारी नगर्ने संस्था र व्यक्ति लोप हुनुको विकल्प रहँदैन। ८४ सालमा आउनुपर्ने भविष्य ८२ मै आइपुग्यो, तर हामी पुरानै प्रश्नपत्रको धङ्धङ्गीमा अलमलियौँ।”
उनको संकेत प्रस्ट छ— अब बिपीको नाम जपेर मात्र पुग्दैन, बिपीले परिकल्पना गर्नुभएको ‘उत्तर आधुनिक’ नेपालको नयाँ स्वरूपलाई आजको ‘डिजिटल पुस्ता’ सँग जोड्न सक्नुपर्छ ।

काँग्रेसभित्रको चिरस्थायी रोग ‘गुटबन्दी’ लाई महरले एउटा नयाँ र रोचक उपमा दिएका छन्- ‘फेभिकोल एकता’ । उनी भन्छन्, “हामीलाई फेभिकोलले जोडेको काँचको टुक्रा जस्तो काँग्रेस चाहिएको छैन । फेभिकोलले बाहिरबाट त जोडेको देखिन्छ, तर भित्रबाट त्यो सधैँ चर्किएकै हुन्छ र सानो धक्का लाग्दा धुजाधुजा हुन्छ ।”

महरले डडेलधुराको आफ्नै सन्दर्भलाई जोड्दै पार्टीभित्रको तीतो यथार्थ बाहिर ल्याएका छन् । विशेष महाधिवेशनको माग गर्ने समूहमा हस्ताक्षर गरेको र गगन थापा निकट मानिएको आधारमा उनलाई आफ्नै जिल्लामा असहयोग हुनुले काँग्रेसको आन्तरिक लोकतन्त्र कति कमजोर छ भन्ने देखाउँछ ।
“चुनावका बेला घात–अन्तर्घात गर्ने र अरू बेला मिल्ने नाटक गर्ने काँग्रेसले अबको चुनौती सामना गर्न सक्दैन ।”

 

महरको यो आक्रोश केवल व्यक्तिगत पीडा होइन, बरु हजारौँ इमान्दार कार्यकर्ताको आवाज हो ।

उनले एकताको विकल्पमा ‘ढलोट’को अवधारणा अघि सार्नुभयो । विभिन्न धातुहरू पग्लिएर जसरी एउटा नयाँ र अविभाज्य स्वरूप ग्रहण गर्छन्, काँग्रेसभित्रका विभिन्न पुस्ता र विचारहरू पनि त्यसरी नै पग्लिएर एउटै अस्तित्वमा आउनुपर्ने उनको तर्क छ ।

९७ वर्षका पाका नेतादेखि ‘जेन–जी’ र ‘अल्फा’ पुस्तासम्म समेटिएको काँग्रेसलाई महर ‘ग्रेटेस्ट जेनेरेसन’ को पार्टी मान्छन् । तर यी दुई विपरीत ध्रुवका पुस्ताबीच संवादको अभाव हुनुलाई उनी दुर्भाग्यपूर्ण ठान्नुभएको छ । उनकाअनुसार, नयाँ पुस्ताको ‘अदम्य साहस’ र पुरानो पुस्ताको ‘अनुभव’ लाई जोड्ने सूत्र फेला पार्न नसक्दा पार्टीले नयाँ मतदाताको विश्वास जित्न सकेको छैन ।

महर भन्छन्, “हामी कम्युनिस्ट पार्टीहरू जस्तो आफ्ना कार्यकर्तालाई विचारको बन्धक बनाएर हिँडाउन सक्दैनौँ । हामी जोन लकको ‘सीमित सरकार’ र व्यक्तिगत स्वतन्त्रताको पक्षपाती हौँ । तर, स्वतन्त्रताको अर्थ आफ्नै पार्टीको उम्मेदवारलाई हराउनु पक्कै होइन ।”

नयाँ उदाएका दलहरू अहिले ‘ट्रायल चेक’ मा रहेको दाबी गर्दै उनले ती दलहरूको सफलता काँग्रेसको असफलताको उपज भएको विश्लेषण गरेका छन् ।

नेपालको राजनीति अब केवल देशको भूगोलभित्र मात्र सीमित छैन भन्ने महरको ठम्याइ छ । ८० लाखभन्दा बढी नेपाली विदेशमा रहेको तथ्यलाई उल्लेख गर्दै उनी भन्छन्, कि नेपालमा हुने परिवर्तनको ‘डिस्कोर्स’ अब कतार, मलेसिया र युरोपबाट तय हुन थालेको छ ।

“ऋण लिएर विदेश गएको एउटा युवा, जसले बाबुको मलामी जान पाएन र आमाको उपचारमा सहयोग गर्न सकेन, उसको मनमा राज्यप्रति जुन आक्रोश छ, त्यसको सम्बोधन हामीले नगरे कसले गर्छ ?” उनले प्रश्न गरे ।

महरकाअनुसार यी युवाहरूले खोजेको विकल्प काँग्रेस वा अन्य पुराना दलहरूले दिन नसकेकै कारण उनीहरूमा वितृष्णा फैलिएको हो । बिपीले भनेको ‘नेपाल भूगोल मात्र होइन, भावना हो’ भन्ने भनाइलाई चरितार्थ गर्न काँग्रेसले ती ८० लाख नेपालीको आँसु र पसिनालाई आफ्नो राजनीतिक एजेण्डा बनाउनुपर्ने उनको सुझाव छ ।

महरले काँग्रेसको वर्तमान अवस्थालाई विश्व राजनीतिको सन्दर्भसँग जोडेर गम्भीर चेतावनी दिए । चीनको कोमिन्ताङ पार्टी निर्वासित हुनुपरेको र भारतको काँग्रेस (आई) ले भोगिरहेको संकटलाई उनले ‘खतराको घण्टी’ मान्छन् । तर बेलायतको लेबर पार्टीले १६ वर्षपछि गरेको पुनरागमनलाई उनले एउटा सम्भावनाको रूपमा प्रस्तुत गरेका छन् ।

“टोनी ब्लेयरले जसरी लेबर पार्टीलाई ‘कमब्याक’ गराए, काँग्रेसले पनि त्यस्तै नवीन बाटो रोज्नुपर्छ,” महर भन्छन् ।

यसका लागि व्यक्तिगत कुण्ठा र स्वार्थ त्याग्नुपर्नेमा उनको जोड छ ।

आगामी दिन केवल आलोचना मात्र गरेर नपुग्ने उनको तर्क छ । आफ्नो स्थानबाट त्याग गर्न सके पार्टीलाई नयाँ जीवन दिन सक्ने बताए ।

महरले आफूलाई एउटा उदाहरणीय पात्रको रूपमा प्रस्तुत गर्दै भने, “म चार वर्ष नेपाली काँग्रेस पार्टीलाई सशक्त बनाउन र निःस्वार्थ जनता केन्द्रित पार्टी निर्माणमा योगदान दिनका लागि कार्यकारी तहभन्दा बाहिर बसेर एउटा क्याडरका रूपमा देशभर संगठनमा लाग्न तयार छु।”

उनको यो भनाइले नेतृत्वमा टाँसिइरहने प्रवृत्तिका विरुद्ध ठुलो नैतिक प्रश्न उठाएको छ । पद र प्रतिष्ठाभन्दा माथि उठेर संगठनमा लाग्ने हो भने मात्र काँग्रेस पुनर्जीवित हुनसक्छ भन्ने उनको मान्यता छ ।

काँग्रेस अहिले गम्भीर बिरामी छ र यसको उपचार केवल ‘टालटुल’ वा ‘फेभिकोल’ ले सम्भव छैन। यसलाई वैचारिक र सांगठानिक रूपमा ‘ढलोट’ को जस्तो मजबुत बनाउन जरुरी छ । २०४८ सालको पुरानो प्रश्नपत्रले २०८२ को परीक्षा दिन खोज्दा भएको दुर्घटना भविष्यमा दोहोरिन नदिन नेतृत्वले आफ्नो चश्मा बदल्न जरुरी छ ।

नेता महरको शब्दमा भन्नुपर्दा, “नेपाल निर्माणको साझा प्रयासमा लाग्न र जनताको नवअपेक्षा पूरा गर्न काँग्रेसको एकताबद्ध यात्रा जरुरी छ।”

तर यो एकता ‘भागबण्डा’ को होइन, ‘भावना’ को हुनुपर्छ। काँग्रेस सुध्रिनका लागि पहिले कांग्रेसभित्रैको ‘इगो’ र ‘गुट’ पग्लिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =