एमाले नेताहरूको चिन्तन र व्यवहारमा सुधार आवश्यक: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वलाई परिस्थितिअनुसार मति अनुकूल व्यवहार नगर्ने मुर्खता नगर्न आग्रह गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेको रक्षाका लागि शीर्षकमा धारणा लेख्दै पार्टीभित्र विकसित परिस्थितिको अनुसार आफ्ना चिन्तन र व्यवहारमा सुधार आवश्यक रहेकोमा जोड दिएका हुन् ।

पोखरेलले लेखेका छन्, ‘गति अनुसार मति बनाऔं, आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं । गति अनुसार मति सपार्ने काममा लागौं, सिंगो एमाले पंक्तिले यो कुरा बुझौं ।’

उनले सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद, आत्मकेन्द्रित अभिव्यक्ति र विधि–पद्धति विपरीत गतिविधि पार्टीका लागि हानिकारक भएको बताए । यस्ता प्रवृत्तिबाट टाढा रहँदै पार्टीलाई नयाँ स्तरमा गतिशील बनाउने जिम्मेवारी सबै नेतामा रहेको उनले औंल्याए ।

पोखरेलले एमालेको स्थापनाकालदेखि नै सामूहिक नेतृत्व प्रणाली, व्यवस्थित विधि–पद्धति र आलोचनात्मक चेतनाले निर्देशित पार्टी रहेको स्मरण गराउँदै मंसिरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा पनि पार्टीलाई नयाँ जीवन दिने गम्भीर बहस भएको बताए ।

अहिले पार्टीमाथि चौतर्फी षडयन्त्रपूर्ण हमला भइरहेको दाबी गर्दै पोखरेलले ऐतिहासिक पृष्ठभूमि नबिर्सन र लडेको ठाउँबाट उठ्न सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =