बादलको अभिव्यक्तिप्रति पाण्डेको टिप्पणी: ‘संसदमा षड्यन्त्रका लामा कथा सुनियो’

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष अरूलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् ।
पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले स्वयं पनि जिम्मेवार रहेको उल्लेख गर्दै उनले तत्कालीन एमाले नेतृत्वको सरकारको अकर्मण्यता यसका लागि जिम्मेवार रहेको बताएका छन् ।
बादलको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई ! हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न, हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’
घेराबन्दीको राष्ट्रवादी राजनीतिको शैली पुरानो भइसकेको उल्लेख गर्दै उनले अबको प्रमुख राष्ट्रवादी एजेन्डा आर्थिक सुधार हुनुपर्ने बताएका छन् । ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्,’ उनले लेखेका छन् ।
आफ्ना कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्दै अतिवादतर्फ धकेल्ने प्रवृत्ति त्याग्न उनले आग्रह गरेका छन् । भदौ २३ र २४ गतेका घटनाको छानबिन आवश्यक रहेको बताउँदै उनले जनताको आकांक्षासँग मेल नखाने राजनीतिक अभ्यासलाई बेवास्ता गर्न नहुने उल्लेख गरेका छन् ।
यसअघि एमालेका कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचन परिणामलाई षड्यन्त्र र विभिन्न निकायहरूको मिलेमतोको परिणाम भएको बताएका थिए । साथै, उनले नेपाली सेना, कर्मचारीतन्त्रदेखि विदेशी निकायसम्मलाई आरोप लगाउने अभिव्यक्ति दिएका थिए, जुन एमालेकै आधिकारिक अडान विपरीत रहेको बताइएको छ ।
बादलको उक्त अभिव्यक्तिपछि एमालेभित्र तरंग पैदा भएको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेलले आज बस्ने सचिवालय बैठकमा यस विषयमा गम्भीर छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन् ।









