प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्: कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) पालना गर्न सुझाव दिएका हुन् ।
नयाँ सरकार गठनपछिको राजनीतिक परिस्थितिलाई सम्बोधन गर्दै सिटौलाले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जनताको आकांक्षा पूरा गर्न सरकारले संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
नेता सिटौलाले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको कतिपय निर्णयप्रति आपत्ति जनाए । कुनै आयोगको प्रतिवेदन सार्वजनिक नगरी वा संसद्मा पेस नगरी हतारोमा पक्राउ गर्ने र कार्यान्वयन गर्ने शैलीले कानुनी राज्यको उपहास गरेको उनको तर्क छ । काँग्रेसको इतिहास स्मरण गर्दै सिटौलाले आफूहरू बदलाको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारे ।
सिटौलाले विगतमा बहुमत र झन्डै दुई–तिहाइ पाएका सरकारहरू पनि टिक्न नसकेको इतिहास स्मरण गराउँदै सरकारलाई अहंकार नगर्न चेतावनी दिए । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन, बेरोजगारी समस्या समाधान गर्न र विश्व राजनीतिमा आएको परिवर्तनका कारण विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेको समस्या सम्बोधन गर्न राष्ट्रिय एकता आवश्यक रहेको उनले बताए ।
रुस–युक्रेन युद्ध र खाडी मुलुकको तनावका बीच नेपालीहरूको सुरक्षाका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
उनले भने ‘राम्रो काम आए समर्थन गर्ने र नराम्रो काम आए विरोध गर्ने हाम्रो परम्परा छ । तर म चाहन्छु—सरकारले सधैँ राम्रो काम गरोस् ताकि हामीले सधैँ समर्थन मात्रै गर्न पाइयोस्, विरोध गर्ने अवस्थै नआओस् । स्वयं मन्त्रिपरिषद्ले नै फलानोलाई पक्राउ गर भन्नु उचित होइन । यसले ड्यू प्रोसेस अफ ल लाई फलो गर्न सकेन ।’
उनले बेचन झा र प्रतीक थापाहरूले छिट्टै न्याय पाउनुपर्ने र जनताले न्याय भएको देख्न पाउनुपर्ने बताए ।









