संसद बैठक निर्विघ्न चलाउँछुः ज्येष्ठ सदस्य केसी

काठमाडाैं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भुमिका खेल्नुपर्ने बताएका छन् ।

उनले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गरे । केसीले सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

केसीले बिहीवारको (आजको) बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरू प्रतिबद्ध रहेको विश्वाससमेत व्यक्त गरे । संसद राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिबिम्व भएको उल्लेख गर्दै केसीले त्यसको संरक्षक सभामुख हुने बताए ।

मेरो दायित्व अहिले सभामुखको भएको हुनाले अहिले म दलगत राजनीतिका कुरा गर्दिन । किनभने संसद भनेको राष्ट्रिय राजनीतिक संस्कृतिको पहिचानको थलो हो । देशको राजनीतिक संस्कार कस्तो छ भन्दा त्यो देशको संसदले देखाइरहेको हुन्छ । त्यसको संरक्षक र प्रवक्ता भनेको सभामुख हो । त्यसकारण सभामुख र संसद लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ हुन्छन् । त्यसैले अगामी दिनमा पनि संसद र राष्ट्रिय राजनीतिको सुरक्षित अवतरण हुँदै जाओस्, उनले भने ।’

सभाको ज्येष्ठ सदस्य भएको हैसियतले केसीले नै प्रतिनिधि सभाको बिहीवारको (आजको) बैठक सञ्चालन गर्नेछन् । उनले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =