नवलपरासीमा ११ औं समूहको प्रहरी कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की प्रमुख अतिथि थिए ।

दीक्षान्त समारोहमा तालिमका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरियो भने तालिम सफल पार्न योगदान पुर्‍याउने प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको पनि अनावरण गरे ।

उनले सम्बोधन गर्दै शारीरिक र मानसिक रूपमा चुनौतीपूर्ण तर गर्व गर्न लायक यस तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

तालिमको दौरानमा आर्जन गरेका ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोपको उद्धार, आंतकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे ।

तालिमको अवधिमा प्राप्त सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका अन्य कैयौं पक्षमा समेत उपयोगी र लाभदायक हुने उल्लेख गर्दै दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अनुशासित जीवनलाई अवलम्बन गर्न समेत उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कार्कीले कार्यक्षेत्रमा जनअपेक्षा अनुरूपको कानुन सम्मत र विश्वासयोग्य सेवा प्रवाह गर्न सक्दा मात्र नागरिकले वास्तविक शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने बताउँदै दीक्षित प्रशिक्षार्थीहरूले कार्यक्षेत्रमा कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबबाट विचलित नभई कानुनको मार्गमा अडिग रहँदै उच्च व्यावसायिकता, नैतिकता एवम् इमानदारितालाई आत्मसात् गरी मुलुक र जनताको सेवामा समर्पित हुन निर्देशन दिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा तालिम संयोजक प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ६८ जना गरी जम्मा ९३ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिए ।

उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेसन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए ।

समारोहमा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्याल, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =