तारान्तार कल, म्यासेज आएपछि रास्वपाका नेता न्यौपानेले भने– मन्त्रीहरूसँग मेरो घनिष्ठ सम्बन्ध छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रमोद न्यौपानेले आफ्नो अधिकांश मन्त्रीहरूसँग सामान्य चिनजान मात्र भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफू सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य मात्र रहेको जनाएका हुन् । पार्टीको साङ्गठनिक संरचनामा कतै पनि निर्णयाधिकारी नभई आफू सामान्य सुझावकर्ता मात्र रहेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘अधिकांश मन्त्रीसँग मेरो सामान्य चिनजान बाहेक तपाईंहरूले सोचेको जस्तो घनिष्ठ सम्पर्क र सम्बन्ध छैन । त्यसैले तपाईंहरूको विविध चासो र चिन्ता म श्रवण मात्र गर्न सक्छु। म सरकार, मन्त्री, सांसद र पार्टी नेताहरूबाट तपाईंले अपेक्षा गर्नु भएको काम गर्ने र गराउने पहुँच र सामर्थ्य पटक्कै राख्दिनँ’ उनले लेखेका छन् ‘म्यासेज र फोन यति बढ्यो कि चाहेर पनि सबैको रेस्पोन्स गर्न सकेको छैन । तपाईंहरूको जरुरी अनुमान गरेको छु, आवश्यक पर्दा आफैँ सम्पर्क गर्ने छु ।’








