सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौँ । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मंगलबार उक्त रिट दर्ता भएको हो ।

शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको थियो । उनीमाथि एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप लागेको छ ।

यस घटनाको सुरुवात २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित उनको घरबाट एक बालिकाको उद्धार गरेपछि भएको थियो । त्यसपछि जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

उक्त ऐनको दफा ६६(२)(ङ) अनुसार बालबालिकामाथि शारीरिक वा मानसिक हिंसा, धम्की, तिरस्कार वा बेवास्ता गरेमा कसुर मानिने व्यवस्था छ । कसुर पुष्टि भए ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्छ ।

यसअघि उक्त प्रकरणमा मुद्दा नचल्ने निर्णय भएको थियो । तर पछिल्लो समय पुनः अनुसन्धान अघि बढाइएपछि शर्मालाई पक्राउ गरिएको हो ।

यस विषयमा यसअघि सर्वोच्च अदालतमा बालिकाको अभिभावकत्वसम्बन्धी विवादसमेत पुगेको थियो । सर्वोच्चले बालिकाको सर्वोत्तम हितलाई आधार मानेर बुबाआमासँग पुनर्मिलन गराउने तथा बालिकाको इच्छाअनुसार काठमाडौंमै बसोबास र शिक्षाको व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =