प्रधानमन्त्रीलाई स्मरण गराउन स्ववियु अध्यक्षको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण गराउने उद्देश्यले उक्त नक्सा राखिएको जोशीले बताएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन हो । आफू दार्चुलाबासी भएकाले पनि हो,’ उनले भने, ‘सुदूर अब दूर नहीँ भन्नु भएको थियो । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा द्विविधा छैन । तर त्यहाँका जनताले भावनात्मकरुपमा महसुस गराउनु पर्यो ।’
जोशीका अनुसार ती क्षेत्रहरूमा अझै सडक पहुँच नपुगेको भन्दै विकासका लागि ध्यानाकर्षण गराउने उद्देश्यले नक्सा राखिएको हो ।
उनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सासँगै प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर पनि राखेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन शाहले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए ।









