जेनजी आन्दोलनमा नेपाली सेना आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको देखियो: पूर्वएआईजी गुरुङ

काठमाडौँ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बुद्धिराज गुरुङले जेनजी आन्दोलनमा नेपाली सेनाले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको टिप्पणी गरेका छन् ।
सोमवार काठमाडौँमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आन्दोलनमा नेपाली सेनाले राष्ट्रिय सुरक्षा परिषद्को आदेश नआएको भनेर सिंहदरबार लगायतका राष्ट्रिय सम्पत्तिको संरक्षण गर्ने दायित्वबाट पछि हटेको बताएका हुन् ।
उनले सरकारले सो क्रममा भएका सबै घटनाहरूको विस्तृत अध्ययन गरेर मात्रै कारबाहीको प्रक्रिया अघि बढाउन उपयुक्त हुने राय समेत दिए ।
पूर्वएआईजी गुरुङले सो घटनाको समग्र पक्षको अध्ययन नगरी व्यक्त केन्द्रित गरेर हुने कारबाहीले भविष्यमा पनि नेपालमा यस्ता घटना भईसक्ने त्रास सृजना गरिरहने समेत स्पष्ट पारे ।
उनले भने ‘नेपालको कन्डिसनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत थुप्रै निकायहरू छन् । यस्ता खालको सिच्युएशनहरुमा एक संस्था र अर्को संस्थाको बीचमा समन्वयको थुप्रै कुराहरूको अभाव छ भन्नेकुरा पनि एकातिर त्यही प्रतिवेदनले इंगित गरेको छ । त्यतातर्फ हाम्रो छलफलहरू कम भएको देखिन्छ । त्यही छानबिनको क्रममा पनि एकथरीको संगठनले सहयोग गरेन भन्ने कुराहरू छन् । राष्ट्रको सम्पत्तिहरू सुरक्षा गर्नका लागि हिजो कानुन बमोजिम
अख्तियारी पाएर सुरक्षामा नै खटिराखेका निकायहरू हामीलाई सुरक्षा परिषद्को आदेश आएन, निर्णय आएन । त्यसैले हामीले केही पनि गर्न सकेनौ भन्ने आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको जस्तो जवाफ दिइरहेको कन्डिसनहरूमा यी सबै कुराहरूको समग्र व्याख्या गरिनु पर्दछ । यसरी समग्र व्याख्या गरेर जाँदा मात्रै हामीले भोलीको स्थायी शान्ति, स्थायी न्याय यो समाजले प्राप्त गर्न सक्नेछौँ । व्यक्तिलाई पूर्वाग्रह साँध्ने उद्देश्यले मात्रै क्रियाकलापहरू, गतिविधिहरू अघि बढ्न गयो भने यसको निरन्तरता भविष्यमा पनि रहन सक्ने त्रास पनि छ ।’
पूर्वएआइजी गुरुङले मुलुकमा स्थायी शान्ति बहाल गर्न पनि जेन–जी आन्दोलनको समग्र विषयलाई विस्तृत अध्ययन गरेर अघि बढ्नु अति आवश्यक भएको बताए ।









