पूर्वमन्त्री दीपक खड्का म्याद थपका लागि अदालतमा उपस्थित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
आज बिहान पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री सुधन गुरुङका अनुसार भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएको रकमबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि घरबाट जलेका नोटका टुक्रा तथा वरपरबाट खरानीसमेत संकलन गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए । घटनापछि घरभित्र नेपाली तथा विदेशी मुद्रा जलेको अवस्थाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । केही सग्ला नोट प्रदर्शनकारीले लगेको देखिने तस्बिर तथा भिडियोहरू पनि सार्वजनिक भएका थिए ।









