खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे । ‘सबैतिर राजनीतीकरण बन्द गरिनुपर्छ पहिले कुरा । खेलकुद र शिक्षा क्षेत्रमा मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँदा आउँदै गर्दाखेरि पेशागत रुपमा जहाँ जहाँ पनि राजनीतीकरण भएर काम गर्न कठिन भएको छ, त्यो राजनीतीकरणलाई शुरुमा रोक्नुपर्छ’ उनले भने ।

मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताए । ‘अब खेलकुदमा राजनीति होइन खेलकुदमा खेल्ने मान्छेहरु जाने हो राजनीति गर्ने मान्छे जाने होइन । त्यही हिसाबले राष्ट्रिय खेलकुद परिषद अथवा खेलकुदसँग सम्बन्धित जति पनि अरु निकायहरु छ, त्यो सबैमा चाहिँ त्यो क्षेत्रमा विज्ञता भएको, त्यो क्षेत्रको अनुभव भएका विज्ञहरुलाई हामीले सँगै राखेर अगाडि बढाउनेछौँ । अब हाम्रो एकदमै एउटा एकदमै महत्वपूर्ण योजना भनेको खेल क्षेत्रमा भएको राजनीतीकरणलाई रोक्ने हो । एन्फाको विवादलाई पनि अहिले बिग्रेको भनेको राजनीतीकरण धेरै भएर हो । शुरुमा त्यहाँ एन्फा र राजनीतिलाई दुईटालाई छुट्टाउनुपर्छ र त्यही क्षेत्रको विज्ञहरुसँग सहकार्य गरेर हामी अगाडि बढ्छौँ’ उनले भने ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उनको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =