इरानले सम्झौता गर्न नमाने ‘नर्क निम्त्याउने’ ह्वाइट हाउसको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी अमेरिका–इजरायल युद्धका विषयमा इरानले सम्झौता गर्न अस्वीकार गरेमा ‘नर्क निम्त्याउने’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले चेतावनी दिएकी छिन् ।

प्रेस सचिव लेभिटले भनिन्, ‘राष्ट्रपति ट्रम्पले खाली धम्की मात्र दिनुभएको होइन र उहाँ कठोर कदम चाल्न तयार हुनुहुन्छ । अब उप्रान्त हुने कुनै पनि हिंसाको जिम्मेवार इरानी शासन हुनेछ, किनकि उनीहरूले आफू पराजित भइसकेको कुरा बुझ्न र सम्झौतामा आउन अस्वीकार गरिरहेका छन् ।’

इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा वासिङ्टनले कोसँग वार्ता गरिरहेको छ भन्ने कुरा खुलाउन लेभिटले अस्वीकार गरिन् । उनले थपिन्, ‘हामी यी वार्ता र संवादका विवरणहरूमा जाँदैनौँ, किनकि यी अत्यन्त संवेदनशील कूटनीतिक छलफलहरू हुन् ।’

लेभिटले फेब्रुअरी २८ मा सुरु भएको यो युद्ध चार देखि ६ हप्तासम्म जारी रहने अनुमान गरिएको दाबी गरिन् । यता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र अमेरिकाबीच कुनै वार्ता वा छलफल नभइरहेको बताएका छन् । बाघेईले भने, ‘अमेरिकी कूटनीतिलाई कसैले पनि विश्वास गर्न सक्दैन ।’

विगतमा आणविक मुद्दामा भएको वार्ताका क्रममा अमेरिकाले गरेका आक्रमणहरूले गर्दा इरानसँग अमेरिकी कूटनीतिको निकै कष्टकर अनुभव रहेको उनले उल्लेख गरे ।

इरानको मुख्य सैन्य कमान्ड ‘खातम अल–अन्बिया’ केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फगारीले आफ्नो आन्तरिक कलहका कारण अमेरिका आफैँसँग वार्ता गरिरहेको टिप्पणी गरेका छन् । उनले अमेरिकालाई आफ्नो हारलाई सम्झौताको रूपमा नलुकाउन आग्रह गर्दै भने, ‘शत्रुहरूले घमन्ड गर्ने रणनीतिक शक्ति अहिले रणनीतिक हारमा परिणत भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =