नेतन्याहुको चेतावनी- ‘शत्रुविरुद्धको आक्रमण रोकिँदैन’

काठमाडौं । इरानले इजरायलको दक्षिणी सहर अरादलाई लक्षित गर्दै भीषण हवाई तथा क्षेप्यास्त्र हमला गरेको छ । यस आक्रमणमा परी कम्तीमा ८८ जना घाइते भएका छन् भने सहरमा ठूलो मात्रामा भौतिक क्षति पुगेको इजरायली अधिकारीहरूले जनाएका छन् ।
इजरायलको राष्ट्रिय आपत्कालीन सेवा ‘म्यागेन डेभिड एडोम’ का अनुसार घाइते सम्पूर्णलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको छ । अस्पतालमा उपचाररत घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, १९ जनाको अवस्था मध्यम र बाँकी ५५ जना सामान्य घाइते रहेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।
आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अराद सहरका मेयरसँग टेलिफोन सम्पर्क गरी त्यहाँको पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएका छन् । शनिबार साँझ भएको यस त्रासदीपूर्ण घटनालाई प्रधानमन्त्री नेतन्याहुले ‘निकै कठिन साँझ’ को सङ्ज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आम नागरिकलाई सन्देश जारी गर्दै उनले देशको भविष्य रक्षार्थ चलिरहेको यस अभियानमा यो साँझ अत्यन्तै चुनौतीपूर्ण र पीडादायी रहेको उल्लेख गरेका छन् । प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धार पुर्याउन आफूले प्रधानमन्त्री कार्यालयका महानिर्देशकलाई सम्पूर्ण सरकारी निकाय तथा मन्त्रालयहरूसँग समन्वय गर्न कडा निर्देशन दिइसकेको उनले जानकारी दिएका छन् ।
यसका साथै, घटनास्थलमा अहोरात्र खटिएर काम गरिरहेका आपत्कालीन तथा उद्धार टोलीको साहसको उच्च प्रशंसा गर्दै नेतन्याहुले सम्पूर्ण नागरिकलाई ‘होम फ्रन्ट कमान्ड’ ले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न विशेष अपिल गरेका छन् ।
आफ्नो सन्देशको अन्त्यमा प्रधानमन्त्री नेतन्याहुले शत्रुविरुद्धको लडाइँमा आफूहरू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पार्दै आगामी दिनमा पनि आक्रामक कारबाही निरन्तर जारी रहने कडा चेतावनी दिएका छन् ।









