रोशी खोला सडकमा उर्लिँदा वीपी राजमार्ग ठप्प, यात्राअघि सावधानी अपनाउन आग्रह

काठमाडौं । वर्षासँगै रोशी खोलामा आएको बाढी सडकमा पसेपछि वीपी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण काभ्रेको रोशी गाउँपालिका अन्तर्गतका विभिन्न खण्डमा बाढी पस्दा यातायात सेवा प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान ३:३० बजेको समयमा रोशी खोलाको बहाव बढेर सडक सतहमा आएको थियो । बाढीका कारण राजमार्गको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ । सडकमा ठूलो मात्रामा पानी र लेदो थुप्रिएका कारण सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
खोलाको बहाव सडकसम्मै पुगेकाले तत्काल सवारी सञ्चालन गर्न जोखिमपूर्ण देखिएको प्रहरीले जनाएको छ । हाल प्रहरीले सम्बन्धित निकायहरूसँग समन्वय गरी सडक सुचारु गराउन पहल गरिरहेको छ । यद्यपि, वर्षा जारी रहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच, जिल्ला ट्राफिक कार्यालय काभ्रेले सडकको अवस्था र सुरक्षा स्थितिबारे पर्याप्त जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । खोलामा पानीको सतह नघटेसम्म जोखिम मोलेर यात्रा नगर्न र वैकल्पिक मार्गको खोजी गर्न समेत ट्राफिक प्रहरीले अपिल गरेको छ ।








