पञ्च काश्मिरी तकिया मस्जिदमा ‘इद’को उमङ्ग (तस्बिरहरू)

काठमाडौं । एक महिना लामो कठोर आत्मसंयम, उपासना र भक्तिपछि मुस्लिम समुदायको महान् पर्व ‘इद उल फित्र’ आज देशभर हर्षोल्लासका साथ मनाइएको छ । अरबी पात्रो हिजरी संवतको नवौँ महिनाभरि निराहार व्रत (रोजा) बसेका इस्लाम धर्मावलम्बीहरूले आज बिहानै सामूहिक नमाज पढ्दै खुसी साटासाट गरेका छन् ।
काठमाडौंको तीनधारास्थित पञ्च काश्मिरी तकिया मस्जिदमा आज बिहानैदेखि ईश्लाम धर्मावलम्बीहरूको विशेष चहलपहल देखियो । नयाँ र सफा वस्त्रमा सजिएका स-साना बालबालिकादेखि वृद्धवृद्धाहरूसम्मको उपस्थिति रहने काश्मिरी मस्जिदको दृश्य निकै मनमोहक थियो ।
मस्जिदको प्राङ्गणमा हजारौँको सङ्ख्यामा भेला भएका मुस्लिम समुदायले देशमा शान्ति, सुव्यवस्था र आपसी सद्भावको कामना गर्दै विशेष नमाज पाठ गरे । नमाज सकिएलगत्तै एक-अर्कालाई अङ्कमाल गर्दै ‘इद मुवारक’ भन्दै शुभकामना आदानप्रदान गर्नेहरूको भिडले धार्मिक सहिष्णुताको अनुपम नमुना प्रस्तुत गरेको थियो ।
दान, परोपकार र मानवीय सेवाको सन्देश दिने यस पर्वमा प्रत्येक मुस्लिम परिवारले आफ्नो आम्दानीको निश्चित हिस्सा ‘जकात’ र ‘फितर’ का रूपमा असहाय र गरिबहरूलाई वितरण गर्ने गर्दछन् । काश्मिरी मस्जिद परिसरमा पनि आज दान दिने र आशीर्वाद लिनेहरूको दृश्यले इस्लाम धर्मको सेवाभावलाई चरितार्थ गरिरहेको थियो ।
घरमा तयार गरिएका सेवई र खजुर जस्ता मीठा परिकारहरू खाएर र आफन्तजनलाई खुवाएर मनाइने यो उत्सव तीन दिनसम्म जारी रहनेछ । नेपाल सरकारले सार्वजनिक बिदा दिएको यस अवसरमा काठमाडौंका मस्जिदहरू मात्र नभई देशभरका इदगाहहरूमा खुसीको रङ्ग पोतिएको छ ।
तस्बिरहरू :-









