देशभर मौसमको बदलीसँगै वर्षा र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ । यसका कारण देशभरिको मौसमी गतिविधिमा फेरबदल भई आज सातै प्रदेशमा वर्षा, असिना र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा पूर्ण बदलीको अवस्था छ । देशका अन्य भू-भागमा पनि सामान्य बदली रहेको र केही स्थानमा छिटपुट वर्षा सुरु भइसकेको छ ।

आज दिउँसो देशभरिको आकाश सामान्यदेखि पूर्ण बदली रहने प्रक्षेपण गरिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तीव्र गतिको हावाहुरीसहित वर्षा हुने देखिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आज राति पनि देशभरको मौसममा सुधार हुने सङ्केत देखिएको छैन । देशभर आंशिकदेखि सामान्य बदली कायम रहनेछ । कोशी प्रदेशलगायत देशका अन्य पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । साथै, हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

असिना, हावाहुरी र चट्याङ्गले जनजीवन प्रभावित पार्न सक्ने भन्दै मौसमविद्हरूले सतर्क रहन सुझाव दिएका छन् । विशेषगरी यात्रामा निस्कनेहरू, कृषि कार्यमा संलग्न व्यक्तिहरू र हवाई क्षेत्रलाई उच्च सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । वायुको यो प्रभाव केही दिन कायम रहन सक्ने भएकाले प्रतिकुल मौसमबाट जोगिन आवश्यक तयारी गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =