पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

काठमाडौं । पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ काठमाडौंमा हुने भएको छ ।
उद्यमशीलता प्रवद्र्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यका साथ चैत ८ र ९ मा उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले देशभरका लघुवित्त सदस्यदेखि विज्ञहरुको सम्मेलनमा सहभागिता रहने जानकारी दिए ।
उनकाअनुसार सम्मेलनले लघुवित्त सदस्यमा समृद्धि ल्याउनेबारे छलफल हुनेछ । श्रेष्ठले मुलुकमा लघुवित्तमार्फत गरिबीलाई शुन्यमा लैजानेबारे समेत सम्मेलनमा छलफल हुने जानकारी दिए ।
बेरोजगारीलाई शुन्यमा झर्दै लघुवित्तमार्फत नै मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिनेमा उनको जोड थियो । ‘लघुवित्त सम्मेलनमा खासगरी सदस्यहरुमा समृद्धि ल्याउने, लघुवित्तलाई स्वच्छ बनाउने, उद्यमशीलता प्रवद्र्धन गर्ने, गरिबीलाई शुन्य बनाउने, बेरोजगारीलाई शुन्यमा झार्ने, लघुवित्तलाई वातावरणमैत्री बनाएर थ्री जीरो भ्यलेज बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ’ उनले भने ।
अध्यक्ष श्रेष्ठका अनुसार सम्मेलनमा देशभरका लघुवित्त संस्थाका सदस्य तथा सरोकारवालाको सहभागिता रहनेछ । लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र उद्यमशीलता प्रवद्र्धनका विषयमा छलफल हुने आयोजकको भनाइ रहेको छ ।








