गगनको राजीनामाले महामन्त्रीद्वयमाथि नैतिक दबाब, पद त्याग्ने कि महाधिवेशन गराउने ?

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा व्यहोर्नुपरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएपछि पार्टीभित्र अन्योल सुरु भएको छ । सर्लाही-४ मा व्यहोरेको व्यक्तिगत हार र पार्टीले राष्ट्रिय स्तरमा सोचेअनुरूप परिणाम ल्याउन नसकेपछि थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
सभापति थापाको राजीनामासँगै अब कांग्रेसको आगामी यात्रा कस्तो हुने र नेतृत्वको रिक्तता कसरी पूर्ति हुने भन्ने विषयमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । विशेष गरी, सभापतिले मार्गप्रशस्त गरेपछि पार्टीका दुई महामन्त्रीहरू गुरु घिमिरे र प्रदीप पौडेलमाथि पनि नैतिक दबाब चुलिएको छ । पार्टीको आन्तरिक राजनीतिमा महामन्त्रीद्वय घिमिरे र पौडेलको भूमिका अब निर्णायक र चुनौतीपूर्ण देखिएको छ । पार्टीभित्रैबाट उनीहरूले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । तर, अर्कोतर्फ पार्टीलाई तत्कालै १५ औँ महाधिवेशनतर्फ डोर्याउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले उनीहरूले पदमै रहेर जिम्मेवारी पूरा गर्नुपर्ने तर्क बलियो देखिन्छ ।
कांग्रेस एक शीर्ष नेताका अनुसार, सभापति पद रिक्त भएको अवस्थामा केन्द्रीय कार्यालयको सम्पूर्ण प्रशासनिक र सङ्गठनात्मक जिम्मेवारी महामन्त्रीहरूको काँधमा आउँछ । यस्तो संवेदनशील समयमा महामन्त्रीहरूले पनि राजीनामा दिएमा पार्टी थप अभिभावकविहीन र अस्तव्यस्त हुने जोखिम रहन्छ । त्यसैले, महाधिवेशनको सुनिश्चितताका लागि पनि उनीहरूले जिम्मेवारी नछाड्ने सम्भावना छ ।
राजीनामाबारे केन्द्रीय समितिमा छलफल
थापाले दिएको राजीनामाबारे औपचारिक छलफल गर्न शुक्रबार अपराह्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । सोही बैठकले थापाको राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने अन्तिम निर्णय लिनेछ । विधानतः केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्दै उनलाई नै महाधिवेशन गराउने जिम्मेवारीसहित निरन्तरता दिन सक्ने विकल्प पनि खुला छ ।
विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिमा तत्कालीन संस्थापन (देउवा) पक्षको उपस्थिति शून्य छ । सभापति शेरबहादुर देउवा यतिबेला उपचारका लागि सिंगापुरमा छन् भने उनी निकटका नेताहरूले गगन थापाको राजीनामालाई ‘राजनैतिक नाटक’ को सङ्ज्ञा दिएका छन् । उनीहरूले यो कार्यसमितिको वैधानिकतामाथि नै प्रश्न उठाउँदै तत्कालै नियमित महाधिवेशनमा जानुपर्ने अडान राख्दै आएका छन् ।
निर्वाचनको ‘सुनामी’ले पार्टीको साखमा धक्का पुर्याएपछि अब कांग्रेसलाई कसरी एक ढिक्का बनाउने भन्ने प्रश्न पेचिलो बनेको छ । एकातिर गगन थापाको नैतिकताको राजनीति र अर्कोतिर महामन्त्रीहरूमाथि थपिएको सङ्गठनात्मक भारले गर्दा शुक्रबारको केन्द्रीय समिति बैठकलाई निकै चासोका साथ हेरिएको छ ।








