अब ग्यास आधा सिलिन्डर मात्रै पाइने, बिजुलीको खपत बढाउन आग्रह

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को बढ्दो माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलनमा राख्न नयाँ रणनीति अख्तियार गरेको छ । निगमको पछिल्लो निर्णयअनुसार अबदेखि उपभोक्ताले आधा सिलिन्डर मात्रै ग्यास खरिद गर्न पाउने भएका छन् ।
विगत केही महिनादेखि बजारमा ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि निगमले प्रति सिलिन्डर ७.१ किलो मात्रै ग्यास भरी बिक्री वितरण गर्ने निर्णय गरेको हो । यसरी आधा भरिएको सिलिन्डरको उपभोक्ता मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको छ ।
निगमका अनुसार पछिल्लो दुई–तीन महिनादेखि बजारमा ग्यासको माग उच्च देखिएको छ । एकातिर आन्तरिक माग बढ्नु र अर्कोतिर मध्यपूर्वमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमै पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति प्रणालीमा प्रतिकूल असर पर्नुले यो चुनौती थपिएको हो । नियमित रूपमा आयात र वितरण भइरहे पनि भविष्यमा पर्न सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै निगमले आधा सिलिन्डरको प्रावधान ल्याएको जनाएको छ ।
आपूर्तिलाई सहज बनाउन निगमले उपभोक्तालाई ग्यासको सट्टा विद्युतीय चुल्होको प्रयोग बढाउन विशेष आग्रह समेत गरेको छ । ुस्वदेशी ऊर्जाको खपत बढाउन र ग्यासको परनिर्भरता कम गर्न बिजुलीको प्रयोग नै उत्तम विकल्प हो,ु निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि सचेत गराएको छ । मासिक एक सिलिन्डर मात्र खपत हुने परिवारले थप सिलिन्डर भरेर नराख्न र अत्यावश्यक परिमाणमा मात्र खरिद गर्न निगमले अनुरोध गरेको छ । बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन र सबै उपभोक्ताको भान्सासम्म ग्यासको पहुँच पुर्याउन यो अल्पकालीन व्यवस्था सहयोगी हुने विश्वास निगमले लिएको छ ।









